रामेछापमा एक सय किलोमिटर सडक कालोपत्रे हुँदैछः मन्त्री ढुंगेल
१६ माघ, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले तीन बर्षको अवधिमा रामेछापमा एक सय मिलोमिटर सडक कालोपत्रे हुने तयारीमा रहेको बताए । पचास किलोमिटर भन्दा बढी सडक तीन बर्षमा कालोपत्रे भइसकेको बताउदै उनले यस आर्थिक बर्षमा जिल्लाभित्र एक सय किलामिटर भन्दा बढी सडक कालोपत्रे हुने बताएका हुन् ।
मन्त्री ढुंगेलले भने,‘सदरमुकाम मन्थलीलाई केन्द्र बनाएर बाँकी छ वटा गाउँपालिकाका जोडने मुख्य सडक सबैमा कालोपत्रेको काम अगाडि बढेको छ, अहिलेसम्म हुन नसकेको काम ओली सरकारको नेतृत्वमा हुँदैछ ।’बागममी प्रदेश सरकारले यस आर्थिक बर्षको लागि मात्र २ अर्ब ७० करोड रुपैयाँ बजेट विभिन्न शीर्षमा जिल्लामा पठाएको बताउदै उनले विकास निर्माणको काममा सरकारले बजेटको अभाव हुन नदिने बताए ।
सडकसँग खानेपानी, सिचाइँ, कृषि, स्वास्थ्य शिक्षा क्षेत्रमा प्राथमिकताको साथ बजेट पठाइएको बताउदै सरकारले जिल्लाभित्र विकास गर्दा आफ्नै पार्टीभित्रैबाट असहयोग भएको बताए । प्रदेश सरकार अन्तर्गत नौ वटा कार्यालय रामेछापमा रहेको बताउदै तीन बर्षको अवधिमा जिल्लाले विकासमा नयाँ फडको मारेको बताए ।