खाँडादेवी गाउँपालिकाको गागल भदौरेमा आरोग्य केन्द्र सञ्चालनमा (फोटोफिचर)
१७ माघ, रामेछाप ।
खाँडादेवी गाउँपालिका–८ गागल भदौरेमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । स्थानीय तहमै नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने उदेश्यले बागमती प्रदेश सरकारले गागल भदौरेमा आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
केन्द्रको नव निर्मित भवनको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले नागरिकहरुलाई निरोगी बनाउनको लागि आरोग्य केन्द्रको स्थापना गरिएको बताए ।
सरकारले योग र आयुर्वेद सेवालाई गाउँगाउँमा पुर्याउने लक्ष्य राखेको बताउदै नियमित योग अभ्यास र आयुर्वेद उपचारले मानिसलाई अनुशासित पनि बनाउने बताए ।कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले गाउँगाउँमा आयुर्वेद सेवा कार्यालय स्थापना हुनु सुखद विषय भएको बताए ।
उक्त कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालय रामेछापका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले जिल्लाबाट मात्र प्रवाह हुँदै आएको सेवा अब गाउँपालिकासम्म विस्तार भएको बताए ।सो अवसरमा भवन निर्माणका लागि एक रोपनी निःशुल्क जग्गा दान दिने जग्गादाता उदय वहादुर भण्डारीलाई मन्त्री ढुंगेलले सम्मान गरेका थिए ।