देवीटार–फुलासी सडकको अनुगमनमा रामेछापका प्रजिअ शर्मा (फोटोफिचर)
१९ माघ, रामेछाप ।
देवीटार–फुलासी सडक खण्डको काम गुणस्तरहिन भएको भन्दै नागरिकहरुले प्रश्न उठाएपछि रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले अनुगमन गरेका छन् । नागरिकहरुले सडक निर्माणको विषयमा गुनासो गरेपछि उनले छडके अनुगमन गरेका हुन् । जिल्लाका सुरक्षा प्रमुख सहित अनुगमनमा गएका प्रजिअ शर्माले सडक निर्माणको क्रममा त्रुटी भेटिएको बताउदै सम्बन्धित निकायलाई पत्राचार गर्ने तयारी गरेका छन् ।
देवीटार–फुलासी सडक खण्डको १८ किलोमिटर सडक राष्ट्रिय पुननिर्माण प्राधिकरणले ग्राबेल गरेको थियो । सोही सडकमा हाल मन्थली नगरपालिकाले कालोपत्रेको काम अगाडि बढाएको छ । सीमित बजेटको कारण मन्थली नगरपालिकाले उक्त सडक खण्डमा दुई किलोमिटर कालोपत्रे गरेको छ भने यस आर्थिक बर्षमा पनि दुई किलोमिटर सडक कालोपत्रे गर्ने कार्यक्रम अगाडि सारेको छ ।
मन्थली देवीटार–फुलासी पोखरी हुँदै दोरम्बा जोडने उक्त सडकको काम निकै सुस्त गतिमा अगाडि बढेको गुनासो स्थानीयको छ ।
रामेछापका प्रजिअ शर्माले रामेछाप न्युजसँग भने,‘सडक निर्माणको क्रममा गुणस्तरमा प्रश्न उठाउने प्रशस्त ठाउँ देखिएकाले सम्बन्धित निकायले तत्काल सुधार गर्नुपर्छ ।’
उनका अनुसार कालोपत्रे गरिएको सडकमा नाला समेत निर्माण नभएको बताउदै भित्ताको वाल निर्माणमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेको पाएको बताए । ‘राज्यले गर्ने लगानी सही सदुपयोग हुनुपर्छ, कालोपत्रे नाला र ढल व्यवस्थित हुनुपर्ने हो, तर अनुगमनको क्रममा नाला विना नै सडक कालोपत्रे गरको पाइयो ।’