अब लिखित पास भएपछि १८ महिनासम्म ट्रायल दिन पाइने
२६ माघ, काठमाडौं ।
सवारी चालन अनुमतिपत्रलाई सहज बनाउन यातायात व्यवस्था विभागले लाइसेन्स लिने प्रक्रिया सजिलो बाएको छ । विभाग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) को समयावधि बढाएर सहज बनाएको हो । सवारी साधनको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको तीन महिनाभित्र तीन पटक ट्रायल दिन पाउने यस अघिको व्यवस्थालाई परिमार्जन गर्दै विभागले १८ महिना पुर्याएको छ ।
आइतबार एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको र सो बमोजिम हुने गरि विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ्ग लाइसेन्स एण्ड भेइकल रजिष्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समेत अद्यावधिक गरि ट्रायल परीक्षाको समयावधि बढाइएको बताएको छ ।
कोभिड–१९ का कारण लामो समयदेखि लिखित परीक्षा पास गरेर ट्रायल परीक्षाका लागि रोकिरहेका सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर विभागले यस्तो निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए । योसँगै अब नयाँ लाइसेन्सका लागि आवेदन दिने परीक्षार्थीले लिखित पास गरेर ट्रायल फेल भएको खण्डमा अधिकतम १८ महिनासम्म पुनः ट्रायल दिन पाउने उनले जानकारी दिए ।