रामेछाप नगरपालिकामा फेरि अर्को काण्डः वडाअध्यक्ष श्रेष्ठले कर्मचारीको कठालो समातेपछि…….
२९ माघ, रामेछाप ।
रामेछाप नगरपालिभित्र फेरि नयाँ काण्ड बाहिरिएको छ । रामेछाप नगरपालिका शिक्षा शाखाका कर्मचारी डोर बहादुर तामाङले शिक्षक नियुक्त गर्ने क्रममा विज्ञ छनोटमा झेली गरेपछि वडाअध्यक्ष भुपालराज श्रेष्ठले रंगेहात समातेका छन् । बुधवार रामेछाप नगरपालिका–३ साँघुटारको कालिका ईश्वरी आधारभूत विद्यालयमा शिक्षक नियुक्तिका लागि विज्ञ छनोट गर्ने क्रममा तामाङले झेली गरेको पत्ता लागेपछि वडाअध्यक्ष श्रेष्ठले रंगेहात समातेका हुन् ।
विद्यालयका प्रअ र शिक्षा शाखाको मिलेमतोमा विज्ञ छनोटमा शंका लागेपछि आफूले सुरुदेखि नै निगरानी गरेको वडाअध्यक्ष श्रेष्ठले बताए । विद्यालयमा एक जना शिक्षक नियुक्तिका लागि गोला प्रथाबाट एक जना विज्ञ छनोट गरिएको थियो । जसमा तामाङले सबैको नाम एउटै व्यक्ति नाम लेखेर वडाअध्यक्षलाई छक्याउन खोजेका थिए ।
तर सुरुदेखि नै मिलेमतोको आशंका गरेका वडाअध्यक्ष श्रेष्ठ मिलेमतो भएको प्रमाण सहित समातेका हुन् । सात जना परीक्षार्थी मध्येबाट एक जना छनौट गर्न छ जनाको विज्ञ टिम बनाइएको थियो । वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति र प्रअको अगाडि तामाङले छ जना विज्ञको नाम लेखेका थिए । तर उक्त छ जनाको नाम टेबुलमा नराखी उनले खल्तीमा हालेपछि वडा अध्यक्ष श्रेष्ठ पछिपछि लागेका थिए । केहीबेर वडा अध्यक्ष श्रेष्ठ र तामाङबीच नगरपालिकाको कार्यालयमा लुकामारी समेत भएको थियो ।
‘मैले जुन व्यक्तिमाथि शंका गरेको थिए, विज्ञ व्यक्तिको नाम त्यहीँ भएको पाए’, वडा अध्यक्ष श्रेष्ठले भने,‘मैले गरेको शंका पुष्टि भयो, त्यसपछि मैले तामाङलाई च्याप्प समातेर प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको कार्यकक्षमा लगे, तामाङको खल्तीमा रहेको बाँकी पाँच वटा विज्ञको चिठ्ठामा मिन बहादुर श्रेष्ठको नाम भएको पाइयो ।’
रंगेहात समातेपछि तामाङले गल्ती भएको भन्दै माफी मागेको बताउदै वडा अध्यक्ष तामाङले त्यसपछि नयाँ विज्ञको खोजी गरेर परीक्षार्थीले परीक्षा दिएको बताए ।