रामेछापमा बस दुर्घटनाः भगवान बनेर चालक बस्नेतले बचाए ५३ जनाको ज्यान
८ फागुन, रामेछाप ।
दुर्घटना कहाँ र कति बेला हुन्छ कसैलाई पनि पूर्व जानकारी हुँदैन । शुक्रवार बिहान सात बजे सेतीदेवी मावि सालुका विद्यार्थीहरु पदक जित्ने उत्साहसहित मन्थलीमा आयोजना गरिएको राष्ट्रपति रनिङसिल प्रतियोगितामा भाग लिन बसे चढे । विद्यालयका शिक्षकसहित बसमा ५३ जना सहभागी थिए । सालुबाट मन्थली सामान्यतया बसमा डेढ घण्टा समय लाग्छ । तर आरालो भएको कारण बसका चालक विरेन्द्र बस्नेतले बसको गति बढाए । चालक बस्नेतले बस तीब्र गतिमा चलाएपछि विद्यार्थी र शिक्षकहरुले गति अलि कम गर्न आग्रह पनि गरे । तर चालकले अब मन्थली नै आइसक्यो भन्ने जवाफ मात्र दिए । मन्थली आइपुग्न थोरै मात्र समय बाँकी थियो । साँघुरो सडकमा तलबाट टयाकटर आएको देखेपछि चालकले तीब्र गतिको बस कन्ट्रोल गर्न नसकेको बताउदै बसमा सहभागी विद्यालयका शिक्षक टिकाराम गिरीले भने,‘चालक केही आत्तिए पनि होस गुमाएनन, अनुभव भएरै होला रोडमै बस पल्टाए ।’
बस पल्टिएपछि विद्यार्थीहरुको चित्कार सुरु भएको बताउदै गिरीले रामेछाप न्युजसँग भने,‘मैले त जीवन सकियो भनेको थिए, एकछिन त केही पनि थाहा भएन, होसमा आएपछि विद्यार्थीको उद्धारमा खटिए ।’बस थोरै मात्र अगाडि बढेको भए सुकाजोर खोलामा पुग्ने अवस्था रहेपनि भाग्यले बस रोडमा पल्टिएको बताउदै शिक्षक गिरीले ५३ जनाले पुर्नजन्म पाएको बताए ।
शुक्रवार बिहान ८ः०५ बजे सालुबाट मन्थलीतर्फ आउदै गरेको बा ५ ख २८५७ नम्बरको बस मन्थली नगरपालिका–५मच्छेडाँडीमा दुर्घटना भएपछि स्थानीय, प्रहरी सहित उद्धारमा खटिएका थिए । बसका चालक रामेछाप नगरपालिका देउरालीका २८ बर्षिय विरेन्द्र बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी समक्ष चालक बस्नेतले ब्रेक लगाउने क्रममा ब्रेक लच्किएको बयान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रशकंर श्रेष्ठले बस चालक बस्नेतले आरालोमा ब्रेक लगाउन खोज्दा ब्रेक लच्किएपछि विद्यार्थीको ज्यान बचाउन सडकमै गाडी पल्टाएको बयान दिएका छन् । बस्नेतको भनाई उदृत गर्दै श्रेष्ठले रामेछाप न्युजसँग भने,‘अगाडिबाट टयाक्टर आइरहेको थियो, बस रोक्न सक्ने अवस्था पनि भएन, टयाक्टरमा बस ठोकाउदा झन ठूलो क्षति हुने भो, घाइते भएपनि यात्रुको ज्यान बचाउन भित्तामा गाडी पल्टाए ।’
प्रहरीले तीब्र गतिकै कारण गाडी दुर्घटना भएपनि चालकको अनुभवको कारण ५३ जनाको ज्यान बच्न सफल भएको बताएको छ । प्रहरी निन्त्रणमा रहेका चालक बस्नेतलाई सचेत गराएर छोडने तयारी गरेको छ । गाडी दुर्घटनाबाट १८ जना घाइते भएपनि दुई जना मात्र अलि गम्भीर बिरामी छन् । बाँकीको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
राष्ट्रपति रनिङसिल प्रतियोगितामा सहभागी हुने क्रममा बस दुर्घटनमा परी घाइते भएका शिक्षक विद्यार्थीको उपचार खर्च मन्थली नगरपालिकाले बेर्होने मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले घोषणा गरेका छन् । सेतीदेवी माविका प्रअ गगनबहादुर श्रेष्ठले भगवान बनेर चालकले ५३ जनाको ज्यान बचादिएकोमा धन्यवाद दिए । उनले रामेछाप न्युजसँग भने,‘गल्ती चालकको अवश्य थियो, तर चालकले जसरी सडकमै गाडी पल्टाएर भएपनि ज्यान बचाइदिए, यो हाम्रो लागि निकै खुसीको कुरा हो ।’ उनले बसका चालकहरुलाई गति ख्याल गरेर यात्रुको जीवन सम्झिएर बस चलाउन पनि आग्रह गरे । बस दुर्घटनामा घाइते नभएका विद्यार्थीहरुले भने प्रतियोगीमा सहभागीता जनाएका छन् ।
गति कम गर्नुहोस भन्दाभन्दै दुर्घटनाः टिकाराम गिरी, शिक्षक
ओरालो भएर होला बसको गति तीब्र नै थियो । हामीले अलिमाथिबाटै स्प्रिड बढी भयो अलि कम गर्न भन्यौ । बसमा विद्यार्थीहरु होहल्ला गरिरहेका थिए । म बसमा उभिएको थिए । अलि पछाडि नै थिए । अघि बसेका शिक्षक साथीहरुले पनि चालकलाई भनिरहेका थिए । जवाफमा चालकले सुने पनि कुनै प्रतिकृया दिएनन । मन्थली आइपुग्न थोरै मात्र समय बाँकी थियो । अचानक तलतिरबाट टयाक्टर आयो । सडक साँघुरो पनि थियो ।
चालकले गति बढी भएको कारण बस कन्ट्रोल गर्न सकेनन र बस सडकमा पल्टिाइदिए । बस पल्टिएपछि एकछिन त मेरो पनि होस गुम्यो । होस खुल्दा विद्यार्थीहरु चिच्याइरहेका थिए–बचाउ बचाउ । त्यसपछि म पनि उद्दारमा खटिए । एकछिनमा स्थानीय, प्रहरीहरु सबै आइपुगे । बस थोरै मात्र अगाडि बढेर पल्टिएको भए सुकजोर खोलामा पुग्थ्यो । बस चालक अनुभवी भएकै कारण ठूलो दुर्घटनाबाट जोगाउन सफल भए । वसमा शिक्षक पर्शुराम खाती, शिक्षिका दुर्गा पौडेल र स्टापनर्स समिता घिसिङ सहित ५३ जना विद्यार्थी थिए । प्रतियोगीतामा कक्षा ८ देखि १२ सम्मका ५३ जना विद्यार्थी सहभागी थिए ।
१८ जना घाइतेहरुकाे विवरण
- जि.रामेछाप मन्थली न.पा.-४ सालु बस्ने बर्ष-१७ को घनश्याम बरुवाल दाहिने गालामा चोट
- ऐ.ऐ. गैराथोक बस्ने बर्ष-१४ कि मनिषा नेपाली दाहिने हातमा ठोक्किएको
- ऐ.ऐ. च्याउकेठाटी बस्ने बर्ष-१४ को प्रासुस कार्की अनुहारमा सामान्य चोट
- ऐ.ऐ. बस्ने बर्ष-१८ कि अस्मिता भुर्तेल कम्मरमा ठोकिएको
- ऐ.ऐ. बस्ने बर्ष-१५ कि नमिता घिमिरे ठाउकोमा ठोकिएको
- ऐ.ऐ. बस्ने बर्ष-१५ कि करुणा श्रेष्ठ हात ठोकिएको
- ऐ.ऐ. बस्ने बर्ष १५ कि एलिजा काफ्ले दाहिने घुडामा ठोकिएको
- ऐ.ऐ. बस्ने बर्ष-१४ कि सुवेक्षा तामाङ दाहिने खुट्टा ठिकिएको
- ऐ.ऐ. बस्ने बर्ष-१५ कि देवी खत्री दाहिने हात ठोकिएको
- ऐ.ऐ. बस्ने बर्ष-१५ कि दिपा काफ्ले टाउको र हात दुखेको
- ऐ.मन्थली न.पा.-१ बस्ने बर्ष-१४ कि प्रतिक्षा घिमिरे चोट नभएको वेहोस -०९५० बजे होसमा आएको
- ऐ.मन्थली न.पा.-४ बस्ने बर्ष-१६ को सरोज काफ्ले दाहिने खुट्टा दुखेको
- सह-चालक ऐ.मन्थली न.पा.-२ कठजोर बस्ने बर्ष २० को दामोदर अधिकारी बाया पातामा चोट
- ऐ.मन्थली न.पा.-४ सालु बस्ने बर्ष-१७ को रोशन मगर बाया हात ठोक्किएको
- ऐ.ऐ. बस्ने बर्ष -१३ को नविन मग्राती दाहिने खुट्टा ठोक्किएको
- ऐ.ऐ. बस्ने बर्ष-१६ को बिषाल बसेल बाया खुट्टा र बाया हात ठोकिएको
- ऐ.ऐ. बस्ने बर्ष-१५ को प्रसान्त सुनुवार कम्बर र बाया खुट्टा ठोकिएको
- ऐ.ऐ.बस्ने वर्ष १७ को दिल कुमार पाण्डे । दाहिने घुंडामा ठोकिएको