नागरिकको सेवामा दोरम्बा गाउँपालिका, छातीका रोगीको निशुल्क उपचार



८ फागुन, रामेछाप ।
दोरम्बा गाउँपालिकाले नागरिकहरुलाई गाउँघरमै सेवा प्रवाह गर्ने उदेश्यले निशुल्क रुपमा छातीका रोगीहरुलाई स्वास्थ्य जाँच गरेर औषधी वितरण गरेको छ । दोरम्बा गाउँपालिकाको टोकरपुरमा आज आयोजना गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा छाती रोग विशषेज्ञ डा. नविन प्रकाश साहले २ सय जना भन्दा बढीको छाती चेकजाँच गरेका हुन् ।

शिविरमा छाती चेकजाँच गर्न आएका बिरामीहरुलाई निशुल्क रुपमा औषधी वितरण समेत गरिएको थियो । गाउँपालिकाका ६० बर्षमाथिका बृद्धाबृद्धाको लागि शिविर आयोजना गरिए पनि अन्य छातीका रोगीहरुले पनि सेवा लिएको दोरम्बा अस्पतालका डा. सन्तोष श्रेष्ठले जानकारी दिए ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाभित्रका बृद्धबृद्धालाई अस्पताल जान कठिनाइ हुने भएकाले गाउँपालिकामै स्वास्थ्य शिविर राखिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘नागरिकहरुलाई सकेसम्म गाउँघरमै सेवा सुविधा दिने हाम्रो मुख्य काम हो ।’


गाउँपालिकाले जेष्ठ नागरिकहरुको लागि यसअघि चिसोबाट बञ्चनको लागि गाउँपालिकाभित्रका बृद्धवृद्धालाई निशुल्क रुपमा ब्लाङकेट वितरण गरेको थियो । जेष्ठ नागरिकहरुको सम्मान गर्दै गाउँपालिकाले स्वास्थ्य शिविर राखेको हो । शिविरमा आउनको लागि गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई घरबाट ल्याउने र पुर्याउने समेत व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्