तीन बर्षको अवधिमा रामेछापले विकासमा फड्को मारेको छः मन्त्री ढुंगेल
१३ फागुन, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले तीन बर्षको अवधिमा रामेछाप जिल्लाले विकासमा फड्को मारेको बताएका छन् । उनले रामेछापको सदरमुकाम मन्थलीदेखि स्थानीय तहकाे केन्द्रसम्म जोडने मुख्य सडकको धमाधम कालोपत्रे भइरहेको बताउदै समृद्ध रामेछाप निर्माणको काम तीब्र गतिमा अगाडि बढिरहेको बताएका हुन् ।
गोकुलगंगा गाउँपालिकास्थित फर्पुमा रहेको साना किसान सहकारी संस्थाको दोस्रो साधारणसभाको उदघाटन गर्दै मन्त्री ढुंगेलले तीन बर्षको अवधिमा निर्वाचनमा परेको प्रतिबद्धता अनुसार नै जिल्लाभित्र अहिले विकास निर्माणको काम अगाडि बढाएको बताए ।
उनले भने,‘जिल्लालाई समृद्ध बनाउने अभियान सुरु भएको छ, अब समृद्ध बन्ने धेरै समय लाग्दैन ।’ गाउँ गाउँमा धेरै विकास भएपनि आर्थिक समृद्ध आइनसकेको बताउदै उनले अब गाउँघरमा उत्पादन भएको बस्तुबाटै आत्मनिर्भर बन्नु पर्नेमा जोड दिए । उनले भने,‘उत्पादन बढाएनौ भने बाहिरबाट आयत गरेर मात्र धनी बन्न सक्दैनौ ।’
रामेछाप जिल्लाभित्र सडक कालोपत्रे अभियान, कृषि क्षेत्रको विकास शिक्षा र खेलकुद क्षेत्रमा उल्लेखिय रुपमा काम भइरहेको बताउदै आफू जिल्लाको विकासको लागि प्रतिबद्ध भएर लागेको बताए ।
गोकुलगंगा गाउँपालिकाको विकास गर्न सडक कालोपत्रे गर्नेदेखि लिएर कृषि पटक क्षेत्रको विकास गर्न प्रदेश सरकारले प्राथमिकताको साथ बजेट विनियोजन गरेको बताउदै मन्त्री ढुंगेलले आलु पकेट क्षेत्र र बाख्रा पालनको लागि यस बर्ष थप बजेट विनियोजन गर्ने बताए । रामेछापको समृद्धिको आधार गोकुलगंगा गाउँपालिका भएको बताउदै उनले गाउँपालिका प्राकृतिक स्रोत र साधनले भरिपूर्ण रहेको बताए ।