केपी ओली बाहेक अरु प्रधानमन्त्री हुनै सक्दैननः मन्त्री ढुंगेल
१५ फागुन, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कैलाश ढुंगेलले केपी ओली बाहेक अरु प्रधानमन्त्री हुन नसक्ने बताएका छन् । उनले अहिले संसद पुर्नस्थापना हुँदा पनि केपी ओली नै प्रधानमन्त्री रहेको बताउदै भोली पनि ओली नै प्रधानमन्त्री रहिरहने बताएका हुन् ।
ढुंगेलले केपी हिजो पनि प्रधानमन्त्री रहनुभएको र आज प्रतिनिधि सभा पुर्नस्थापना हुँदा पनि प्रधानमन्त्री नै रहेको बताउदै भने,‘‘फेरि हुने पनि उहाँ नै हो, अरु कोही पनि हुनसक्दैन, प्रचण्ड र माधव नेपालले लड्डु खाएर मुख मात्र मिठो पार्नु भो ।’
प्रचण्ड र माधव नेपाल अत्मारतिको लागि सडकमा नाचेको आरोप लगाउदै मन्त्री ढुंगेलले प्रतिनिधि सभा पुर्नस्थापति भएपनि अरु प्रधानमन्त्री हुन सक्ने अवस्था नै नरहेको बताए ।
नेकपाबाट बाहिरिनुभएका नेताले समेत विस्तारै कुरा बुझ्दै गएको बताउदै उनले नेता र सांसद् मुल पार्टीमै फर्कने क्रम जारी रहेको बताए । भारतको इसारामा नाच्ने भाडाका टट्टु बाहेक सबै नेकपामा फर्किन्छन, मन्त्री ढुंगेलले भने ।सोमवार नेकपा दोरम्बा गाउँपालिका स्तरीय सभालाई शनिबार सम्बोधन गर्दै अहिले अविश्वास प्रस्ताव ल्याउनेको पक्षमा बहुमत नरहेकोले बागमती प्रदेश सरकार नढल्ने दावी गरे ।
प्रचण्ड समूहले वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध अविश्वासको प्रस्ताव ल्याई उहाँको ठाउँमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव दर्ता गराएपनि शाक्य कुनै पनि हालतमा मुख्यमन्त्री बन्न नसक्ने ठोकुवा गरे ।केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म केपी ओलीको सरकारले केही राम्रा काम गरेको देखेपछि केही नेतालाई असैह्य भएको टिप्पणी गर्दै उनले केपी ओली आँटिलो नेपाली आमाको छोरो भएको बताए ।
राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा उभिएपछि केपी ओलीको विरोधमा इण्डियामा तहल्का मच्चिएको बताउदै उनले त्यसपछि प्रचण्ड र माधव नेपालले केपी ओलीको राजिनामा मागेको बताए ।