प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजिनामा दिनुपर्छः सांसद श्रेष्ठ
१६ फागुन, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले नैतिकताको आधारमा तत्काल राजिनामा दिनुपर्ने बताएका छन् । असंवैधानिक रुपमा संसद विघटन गरेपनि सर्वोच्च अदालतले पुर्नस्थापित गरेको बताउदै उनले नैतिकताको आधारमा तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।
नेपाली जनताले दिएको जनमतको प्रधानमन्त्री ओलीले अपमान गर्दै संसद विघटन गरेर ठूलो गल्ती गरेको बताउदै सांसद श्रेष्ठले गल्ती गरिसकेकाले अब पनि पदमा बस्न नसुहाउने बताए ।रामेछाप जिल्लाभित्र विकास निर्माणको कामले योजनाबद्ध रुपमा गति लिएको बताउदै आगामी दिनमा जिल्लाको विकासको लागि धेरै भन्दा धेरै बजेट पार्न पहल गर्ने बताए ।
स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत खरिद गरिएको एम्बुलेन्स र शव वहानको साचो रेडक्रस सोसाइटीलाइ हस्तान्तरण गर्दै उनले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न पाउदा खुसी लागेको बताए । सांसद श्रेष्ठको पहलमा सुनापति गाउँपालिकाले २५ लाखमा शव बहान र एम्बुलेन्स खरिद गरेको हो ।
उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धावा लामा, नेकपाका नेता टंकलाल घिसिङसहित जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो । गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स र शव वहानको सञ्चालन भने नेपाल रेडक्रस सोसाइटी हिलेदेवी शाखाले गर्ने गरी गाउँपालिकाले समझदारी गरेको छ ।