सुनापती गाउँपालिकामा बन्यो नेपालकै ठूलो डम्फु



२७ फागनु, रामेछाप ।
सुनापती गाउँपालिकामा नेपालकै ठूलो डम्फु निर्माण गरिएको छ । सुनापती गाउँपालिकाले नेपालकै ठूलो डम्फु भएको दावी गरेको छ । गाउँपालिकाको करिब १६ लाख लगानीमा डम्फु पार्क निर्माण गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ३ हिलेदेवी र वडा नम्बर ४ को सीमाना सेल्फी डाँडामा निर्माण गरिएको डम्फ पार्क सबैको आर्कषण बन्न पुगेको छ । लुभ–बेथान–गाल्वा सडक अन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको छ ।

डम्फु पार्कबाट पर्यटकीय गन्तव्य सैलुङ लगायतको क्षेत्रको दृष्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय सेल्फी डाँडाको रुपमा चिनिदै आएपछि गाउँपालिकाले तामाङ जातिको संस्कृति झल्किने गरी डम्फु पार्कको अवधारणा अगाडि सारेको हो । स्थानीय तेज तामाङले डम्फु पार्क निर्माण हुनु खुसीको विषय भएको बताए ।

पार्कमा निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले बताएको छ । डम्फु राख्ने काम सम्पन्न भएपनि पार्कको अन्य काम उपभोक्ता समितिले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्