अब सुनकोसी नदी थुनेर दादागिरी देखाए ठाउँको ठाउँ कारवाही हुने



२८ फागनु, रामेछाप ।
सुनकोसी नदीको धार नै परिवर्तन गरेर दोहन हुन थालेपछि स्थानीय सरकार र प्रशासनले निगरानी बढाएको छ । सिन्धुलीतर्फ बगिरहेको सुनकोसी नदी बालुवा व्यापारीले रातारात रामेछापतर्फ फर्कादिएपछि स्थानीय सरकार प्रशासनले निगरानी बढाएको हो ।
एक साता अघि रामेछाप र सिन्धुलीको सीमाना मझुवा बगरमा सिन्धुलीतर्फ बगिरहेको नदी बालुवा व्यापारीहरुले रामेछापतर्फ फर्काएपछि खाँडादेवी गाउँपालिकाले आपत्ति जनाउदै प्रशासनलाई गुहारेको थियो ।

रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका नै सुनकोसी नदी किनारामा रहेको वालुवा ढुंगा उत्खननको लागि ठेक्का लगाएका छन् । दुवै गाउँपालिकाको आन्तरिक आम्दानीको मुख्य स्रोत पनि बालुवा बनेको छ । सिन्धुलीतर्फ बालुवाको ठेक्का पाएको गतिशिल निर्माण सेवाले नदी नै फर्काउने गतिविधि गरेपछि शनिवार दुवै गाउँपालिकाका अध्यक्ष सिन्धुली र रामेछापका प्रमुख जिल्ला अधिकारी, दुवै जिल्लाका प्रहरी प्रमुखको रोहबरमा नदी फर्काउने कार्य तत्काल रोक्ने समझदारी बनेको छ ।

समझदारी अनुसार रामेछापतर्फ फर्काएको कोशीलाई पुरानै अवस्थामा फर्काउने निर्णय भएको छ । समझदारी अनुसार रामेछाप र सिन्धुलीतर्फ वालुवाको ठेक्का लिएका दुवै पक्षले सुनकोसी नदी क्षेत्रको इलाकाभित्र गुण्डागर्दी कार्य नगर्ने भनिएको छ । सुनकोसी नदीको बालुवा उत्खनन कार्यमा कानुन विपरीत काम नगर्ने र कुनै पनि विवाद नगर्ने पनि समझदारी भएको छ ।

समझदारी पत्रमा विश्वास कन्ट्रक्सनका प्रोपाइटर शेर बहादुर तामाङ, सोही कन्ट्रक्सनका सञ्चालक केशर बहादुर पौडेल, गतिशिल निर्माण सेवाका सञ्चालक राम बोगटी र सोही कम्पनीका प्रोपाइटर सुशन चौलागाईबीच समझदारी बनेको छ ।

समझदारीको साक्षिमा रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी गौलोचन सैवु, सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख आभुषण तिम्सिना, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगाना रहेका छन् ।
सुनकोसी नदीमा उत्पन्न विवादको समाधान गर्न आयोजित छलफलमा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरासहित स्थानीय जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्