दोरम्बा गाउँपालिकाको सडक कालोपत्रे गर्न संघ र प्रदेश सरकारको साथ



१ चैत्र, रामेछाप ।
दोरम्बा गाउँपालिकामा पहिलो पटक १४ किलोमिटर सडक कालोपत्रे हुने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दोरम्बा गाउँपालिकाले सडक कालोपत्रेको योजना अगाडि सारेपनि यस बर्ष संघीय सरकार, बागमती प्रदेश सरकार दोरम्बा गाउँपालिकाको साझेदारीमा उक्त योजना सम्भव भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले पहलमा दोरम्बा गाउँपालिकाभित्रको १४ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । सरकारले सदरमुकाम मन्थलीदेखि हरेक स्थानीय तहसम्म सडक कालोपत्रे गर्ने नीति अनुरुप सदरमुकाम र राजधानी काठमाडौ जोडने मुख्य सडकको रुपमा रहेको गाल्वा–दोरम्बा हुँदै टोकरपुरसम्मको सडक कालोपत्रे गर्ने समझदारी भएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलको पहलमा मन्थली खाँडादेवी हुँदै गाल्वासम्म जोडन सडकको धमाधम कालोपत्रेको काम भइरहेको छ । त्यसँगैगरी सित्खा–भिरपानी गोगनपानी हुँदै गाल्वा जोडन सडक पनि कालोपत्रे सम्पन्न हुने चरणमा रहेको छ । यसै बर्ष बागमती प्रदेश सरकारले मन्थलीबाट गाल्वा हुँदै चौरीखोला जोडन सडक कालोपत्रे गर्नको लागि ४७ करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।

वाग्मती प्रादेशिक एवंं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमका लागि प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालबीच भएको सम्झौताको हस्तान्तरण भएको छ । सम्झौता हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश प्रादेशिक एवंं स्थानीय सडक निर्माण र सुधार कार्यक्रमका प्रमुख अधिकृत मोहन चापागाईंले तीन वटै तहको साझेदारीमा सडक निर्माण गर्ने काम अगाडि बढेको बाए ।
तीन वर्षको अवधिभित्र प्रदेशका १३ जिल्लामा ८९० किलोमिटर सडक निर्माण, ४०५ किमि सडकमा ग्राभेलिङ र २१९ किमि सडकमा कालोपत्र गर्ने कार्य समपन्न गरेको मन्त्री फुयाँलले बताए ।

प्रतिक्रिया दिनुहोस्