रामेछापकै नमूना बिटार पार्कमा अराजक समुह छिर्‍यो



४ चैत्र, रामेछाप ।
रामेछापका सहयोगी मनहरु (रासम)को सक्रियतमा निर्माण सुरु भएको बिटार पार्क अहिले सबैको आकर्षण गन्तव्य बनेको छ । युवाहरुको पहलमा सुरु भएको पार्क विस्तारको काम अहिले पनि जारी रहेको छ । रासमको सक्रियता र जाँगरको सबैले तारिफ पनि गरेका छन् । युवाहरुकै पहलमा जिल्लाकै नमूना पार्कको रुपमा बिटारलाई लिने गरिएको छ । जिल्लाको आन्तरिक पर्यटनको प्रमुख गन्तव्यको रुपमा समेत विटार पार्कले आफ्नो पहिचान बनाएको छ । सदरमुकाम मन्थली नजिकै रहेको बिटार पार्कमा पिकनिक जाने र पारिवारिक घुमिफिरको गन्तव्य समेत बनेको छ । पार्कमा रामेछापको पहिचान झल्कने नक्सा समेत राखिएको छ ।

करिब एक बर्ष अघिबाट सञ्चालनमा आएको बिटार पार्कलाई माथि उठाउन रासमले निकै ठूलो भूमिका खेल्दै आएको छ । पार्कभित्र नेपालकै पहिलो चुच्ने नक्सा समावेश गरेर ढुंगामा नक्सा कुदेर राखिएको छ । त्यसैगरी वीरताको चिनो खुकुरी पार्कको आकर्षण रहेका छन् । त्यसैगरी मिनि धरहरा राखिएसँगै पार्कको थप आकर्षण थपेको छ । रासमकै पहलमा पार्कभित्र रहेका रुख विरुवालाई रंग रोगन गर्नेदेखि लिएर पार्कमा आउने आगन्तुहरुलाई बस्नको लागि बेन्च समेत राखिएको छ ।

युवाहरुको जोस र जाँगरको कारण जिल्लाकै आकर्षण पार्क बनेपछि  रामेछाप नगरपालिकाले पनि सहयोग गरेको छ । पार्कलाई व्यस्थितबनाउन डिभिजन वन कार्यालयले समेत  बजेट विनियोजन गरेको छ ।

पार्कलाई थप विकास गर्दै लैजानको लागि सुनिल रायमाझीको अध्यक्षतामा विटार पार्क संरक्षण समिति समेत गठन गरिएको छ । पार्कको विकासमा सरोकारवाला निकायले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै आएका छन् । तर रासमको पहलमा स्थापित भएको बिटार पार्कमा पछिल्लो समयमा अराजक समुहको प्रवेश भएसँगै भौतिक संरचना तोडफोड गर्ने क्रम बढेको छ । रातीको समयमा अराजक समुहको प्रवेश भएसँगै बेन्च  लगातयतका स‌रचना तोडफाड गर्ने श्रंखला बढेकोप्रति रासमले चिन्ता व्यक्त गरेको छ ।

पार्क संरक्षण समितिका अध्यक्ष सुनिल रायमाझीले निकै मेहनत गरेर बन्दै गरेको बिटार पार्कमा गलत मानिसहरुले तोडफोड गर्ने क्रम बढेको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामी युवाहरु मिलेर पार्कलाई नमूना बनाउन लागि परेका छौ, केही अराजक समुह भने तोडफोड गरेर खुसी हुन हुन खाेज्दै छ ।’

विशेषगरी पछिल्लो समयमा जाडरक्सी खाने युवाहरुको भिड पार्कमा बढेको छ । रातीको समयमा रक्सी खाएर बोतल पार्कमा फुटाउने, डस्बिन भएर पनि जथाभावी फोहोर फ्याक्ने क्रम समेत बढेको छ । अध्यक्ष रायमाझी भन्छन–सार्वजकि सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य हो ।’ पार्कभित्र गलत काम गर्ने अराजक समुहको प्रवेश हुने क्रम बढेपछि सिसी क्यामेरा जडान गर्नको लागि रासमले गृहकार्य अगाडि बढाएको छ ।

विटार पार्कभित्रको भौतिक संरचना नै तोडफोड गर्ने र होहल्ला गर्ने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले निगरानी बढाएको छ । केही दिन अघि मात्र प्रहरीले रातीको समयमा पार्कमा जाँड रक्सी खाएर होहल्ला गर्ने पाँच जना युवाहरुलाई पक्राउ समेत गरेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले बिटार पार्कमा रातीको समयमा जाँड रक्सी खाएर होहल्ला गर्ने समुहमाथि निगरानी बढाएको बताए । उनले रामेछाप न्युजसँग भने,‘पार्कभित्र रातीको समयमा बसेर विकृति फैलाउनेमाथि पक्राउ गरेर कारवाही गछौ, नियमित रुपमा प्रहरीले गस्ती बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्