रामेछापमा एमाले नेपाल समुह पुरानै कमिटी ब्युँताउदै
७ चैत्र, रामेछाप ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समुहले देशभर पुरानै कमिटी ब्युँताउने निर्णय अनुसार रामेछापमा पनि नेपाल समुहले पुरानै कमिटी ब्युँताउने अभियान थालेको छ । सर्वोच्च अदालतले एमाले पार्टी ब्युँताउने फैसला गरेपनि फागुन २८ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिएको निर्णयप्रति असन्तुष्टि जनाउदै नेपाल समुहले देशभर समानान्तर कमिटी गठनको प्रक्रिया अगाडि बढाएको हो ।
रामेछाप जिल्लामा पनि यसअघि गठन भएको कमिटीप्रति असन्तुष्टि जनाउदै नेपाल समुहले आठ वटै तहदेखि ६४ वटै वडामा कमिटीमा कमिटी गठनको तयारी थालेको छ । २०७५ जेठ ३ अघि एमाले रामेछापको अध्यक्ष शान्ति पौडेल रहेका थिए ।
एमाले र माओवादी केन्द्र विघटन भएर नेकपा बनेपछि पौडेल जिल्लाको सचिव बनेका थिए । तर प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समुहमा विभाजित हुनु पुग्यो । दुई समुहमा विभाजित भएपछि खनाल नेपाल समुहले प्रचण्डलाई साथ दिएका थिए । पार्टी दुई समुहमा विभाजित भएपछि केन्द्रदेखि स्थानीय कमिटी हुँदै वडासम्म नै फरक–फरक कमिटी गठन भएको थियो ।
अदातले पार्टी ब्युँताएपछि पुरानै कमिटीलाई नै निरन्तरता दिनुपर्ने माग नेपाल पक्षले राखेको थियो । तर अध्यक्ष ओलीले नयाँ कमिटीलाई नै निरन्तरता दिने निर्णय गरेपछि एमाले पुनः दुई समुहमा विभाजित भएको छ । रामेछाप एमालेमा अधिकाशं स्थानीय कमिटी र वडा कमिटीमा ओली समुहमा खुलिसकेका छन् । रामेछापमा नेपाल समुहमा जिल्ला इन्चार्ज देवशकंर पौडेल, जिल्ला अध्यक्ष शान्ति पौडेल, खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ लगायतका नेताहरु रहेका छन् ।