रामेछापको गाउँगाउँमा पुगेर संगठनलाई मजबुद्ध बनाउन मन्त्री ढुंगेलको निर्देशन
८ चैत्र, काठमाडौं ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले गाउँगाउँमा खटिएर संगठनलाई थप बलियो बनाउने कार्यमा लाग्न युवाहरुलाइ निर्देशन दिएका छन् । उनले अब पार्टी नयाँ ढंगले अगाडि बढने बताउदै जनताको बीचमा पुगेर संगठनलाई मजबुद्ध बनाउने कार्यमा लग्न निर्देशन दिएका हुन् ।
राजधानी काठमाडौंमा आज रामेछापबाट राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा चयन भएकाहरुलाई बधाई तथा शुभकामना दिदै मन्त्री ढुंगेलले पार्टीको नीति र विचारलाई दृढताको साथ कार्यान्वयन गर्ने कार्यमा लाग्नु पर्ने बताए । उनले भने,‘युवाहरुको काँधमा ठूलो जिम्मेवारी आएको छ, निकै ठूलो अन्योलतालाई चिदै पार्टी अहिले अगाडि बढेको छ, अब पार्टीलाई पहिलो पार्टी बनाउन गरी युवाहरुले काम गर्नुपर्छ ।’
उनले पार्टीभित्र देखिएको किचलो अहिले हटिसकेको बताउदै पार्टीको नीति उल्घंन गर्नेमाथि स्पष्टिकरण सोध्ने काम अगाडि बढिसकेको बताए । उनले भने,‘पार्टीको नीति विपरीत चल्ने छुट कसैलाई पनि छैन, अब पार्टी अलमलमा पर्दैन, आफ्नो गतिमा अगाडि बढछ ।’ रामेछापबाट युवा सघंमा ३२ जना केन्द्रीय सदस्य चयन भएका छन् ।
उक्त कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष एवं केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य प्रेम बहादुर तामाङ, केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य तुला प्रसाद कंडेल लगायतको सहभागीता रहेको थियो ।