रामेछापमा कसैले पनि समानान्तर कमिटी बनाउन सक्दैनः मन्त्री ढुंगेल



१४ चैत, काठमाडौं ।
नेकपा एमालेका नेता एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले अब पार्टीभित्र कसैले पनि समानान्तर कमिटी गठन गर्न नसक्ने बताएका छन् । पार्टीभित्र कुनै पनि समुहको नाममा हुने गतिविधि मान्य नहुने बताउदै समानान्तर कमिटी गठन गर्नेमाथि पार्टीले निर्मतापूर्वक कदम चाल्ने बताएका हुन् । मन्त्री ढुंगेलले भने,‘रामेछाप जिल्लाभित्र कुनै पनि समुहले समानान्तर कमिटी गर्न सक्दैनन, समानान्तर गतिविधि गर्न पनि दिइन्न ।’

मन्थली नगर कमिटी–काठमाडौं रामेछाप सम्पर्क मञ्चद्धारा शनिवार राजधानीमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले जिल्लाको पार्टी अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडेरिया नै भएको बताउदै अर्को अधिवेशन नहुँदासम्म अहिलेकै कमिटी कायम रहने बताए ।

पार्टीले गरेको निर्णय कुनै पनि हालतमा फिर्ता लिन नसक्ने बताउदै उनले पार्टीलाई संकट परेको बेला काम गर्ने नेताहरु नै अब अगाडि बढने बताए । ‘रामेछाप जिल्लामा एमाले एउटै छ, अब एमाले दुइवटा हुन सक्दैन, अर्को अधिवेशनबाट निर्वाचित भएर आए शान्ति पौडेल अध्यक्ष बन्न सक्नुहुन्छ, नत्र भए सम्भव छैन’, मन्त्री ढुंगेलले भने,‘परिस्थिति अनुसार राजनीति निर्दयी पनि हुन्छ ।’

जिल्लाभित्र समानान्तर कमिटी बनाउनेहरुको खुट्टीदेख्दै चाल पाइसकेको बताउदै उनले घट्टेकुलोमा समानान्तर कमिटी गठन हुन सकेपनि अब रामेछापमा भने समानान्तर गतिविधि सम्भव नभएको बताए । पार्टी संगठन बलियो रहेको र अझ मजुबद्ध बनाएर लैजान जिल्लाभित्र दुई महिने अभियान सञ्चालन गर्न लागिएको बताउदै जबजलाई प्रभावकारी रुपमा लागू गरेर अगाडि बढने मन्त्री ढुंगेलले बताए ।

प्रतिक्रिया दिनुहोस्