रामेछापभित्र अपराध गर्ने जोसुकै भए पनि प्रहरीले छोडदैनः डिएसपी ढुंगाना
२० चैत, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले अपराधमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । उनले जिल्लाभित्र अपराधिक गतिविधि हुन नदिने प्रहरी सचेत रहेको बताउदै अपराध रोकथाम र नियन्त्रणको लागि नागरिकहरुको पनि ठूलो भूमिका हुने बताएका हुन् ।
रामेछाप नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा डिएसपी ढुंगानाले प्रहरीको एकल प्रयासले मात्र अपराध रोक्न नसकिने बताए । उनले भने,‘अपराधिलाई कानुनी कारवाहीमा ल्याउन प्रहरी प्रतिबद्ध छ, नागरिकहरुले पनि समयमा नै सूचना उपलब्ध गराउन भूमिका निर्वाह गर्नुपर्छ ।’
सूचनाको स्रोत नागरिकहरु नै भएको बताउदै नागरिकहरुको सेवामा प्रहरी २४ सै घण्टा उपलब्ध हुने बताए । प्रहरीले हर बखत नागरिकहरुको सेवा गर्न प्रतिबद्ध रहेको बताउदै समाजमा हुने अपराधिक क्रियाकलाप रोक्न समुदाय र प्रहरीबीच सम्बन्ध झन मजुबत बनाएर अगाडि बढनु पर्नेमा उनले जोड दिए । डिएसपी ढुंगानाले राजनीतिक दबाबमा परेर अपराधिलाई उन्मुक्ति नदिने पनि प्रतिबद्धता व्यक्त गरे ।