रामेछापमा समानान्तर गतिविधि गर्नेमाथि पार्टीले कारवाही गर्छः ढुंगेल



२४ चैत, काठमाडौं ।
नेकपा एमालेका नेता एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पार्टीभित्र समानान्तर गतिविधि गर्नेमाथि पार्टीले कारवाही गर्ने चेतावनी दिएका छन् । उनले  पार्टीभित्र अब गुटबन्दी र सामानान्तर गतिविधि स्वीकार्य नहुने बताएका हुन् ।

पार्टीलाई संकट पर्दा भाग्नेहरुलाई अहिले जिम्मेवारी दिन नसकिने बताउदै उनले पार्टीको नीति विपरीत गतिविधि गर्नेमाथि पार्टीले कारवाही प्रक्रिया अगाडि बढाउने बताए । मन्त्री ढुंगेलले भने,‘अहिले पार्टीलाई बलियो बनाउने बेला पार्टीलाई कमजोर बनाउने गरी गुटबन्दी हुने कुरा सह्य हुन सक्दैन,गलत काम गर्नेमाथि पार्टी निर्मम भएर अगाडि बढछ ।’

एमाले रामेछापका अध्यक्षमा आनन्द श्रेष्ठ र पुरुषोत्त कडेरिया फेरिने कुनै सम्भावना नभएको बताउदै ढुंगेलले नयाँ कमिटी नै मान्यता पाइसकेकाले अब विगतको कमिटी ब्युँताउने कुनै पनि सम्भावना नरहेको बताए ।
पार्टीको माया नहुनेहरुले गुटगत मानसिकता बोक्दै हिडेको आरोप लगाउदै उनले अब पार्टी गुटबन्दीले अगाडि बढन नसक्ने बताए ।आज मात्र वरिष्ठ नेता माधव कुमार नेपाल समुहले बागमती प्रदेश कमिटीमा छुट्टै संरचना घोषणा गर्दै प्रदेशभित्रका सबै जिल्लाको अध्यक्ष सहितका पदाधिकारी चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्