‘दोरम्बा गाउँपालिका खेलकुद क्षेत्रको विकास गर्न प्रतिबद्ध छ’
२४ चैत, रामेछाप ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले खेलकुद क्षेत्रको विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । उनले खेलकुद क्षेत्रको विकास गर्न गाउँपालिकाले अगाडि सारेको योजना कार्यान्वयनको चरणमा रहेको बताउदै आगामी दिनमा खेलाडीको क्षमता अभिवृद्धि गर्ने र खेलमैदानको विकासमा ध्यान दिने बताएका हुन् ।
दोरम्बा गाउँपालिका–२ दोरम्बामा आयोजित प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिताको उदघाटन गर्दै अध्यक्ष मोक्तानले दोरम्बाको खेलमैदानको विकास गर्न आगामी बर्ष गाउँपालिकाले उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
गाउँपालिका स्तरीय खेलमैदानको रुपमा विकास गर्न प्रदेश र संघीय सरकार पहल गरिरहेको बताउदै उनले युवाहरुको चाहना र भावना अनुसार नै खेल क्षेत्रको विकास गरिने बताए । ‘खेल स्वास्थ्य र सौहार्दपूर्ण रुपमा खेलिनु पर्छ’, अध्यक्ष मोक्तानले भने,‘फुटबल र भलिबल खेलको मात्र होइन गाउँपालिकाले अन्य खेललाई पनि प्राथमिकता दिएको छ ।’ हामीले दोरम्बालाई चिनाउनु पर्छ, विकास निर्माणसँगै खेलको माध्यमबाट पनि चिनाउन जरुरी छ, उनले भने ।
गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङलाई खेल क्षेत्रको विकासको लागि आवश्यक योजना बनाएर गाउँपालिका अगाडि बढेको बताइन । उनले भनिन–खेलाडीको क्षमता विकास र खेल क्षेत्रको पूर्वाधार निर्माणमा गाउँपालिका लागि परेको छ ।’
दोरम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत धिरज मरासिनी, जनप्रतिनिधिहरुको सहभागीता रहेको उक्त कार्यक्रममा दोरम्बा गाउँपालिका २ का वडाअध्यक्ष खड्क बहादुर श्रेष्ठले दोरम्बाको खेल मैदानलाई जिल्लाकै नमूना खेलमैदानको रुपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको बताए । सैलुङ खेलकुद विकास समितिका अध्यक्ष निराज लामाले आगमी दिनमा खेलकुदका ठूलो प्रतियोगिता गर्न सबै पक्ष लाग्नु पर्नेमा जोड दिए ।