रामेछापको विकास गर्न कुनै पनि कसर बाँकी राख्दिनः मन्त्री ढुंगेल (भिडियोसहित)



२६ चैत, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछापको विकास गर्न कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् । जनताले विश्वास गरेर जिताएकै कारण आज मन्त्री हुन पाएको बताउदै आफ्नो कार्यकालमा जिल्लाको विकासमा कुनै पनि कसर बाँकी नराख्ने बताएका हुन् ।

एमाले सुनापती गाउँ कमिटीको पार्टी कार्यालय उदघाटन एवं सभालाई सम्बोधन गर्दै एमालेका नेता समेत रहेका मन्त्री ढुंगेलले रामेछापमा विकास निर्माणको काम निकै आशाजनक ढंगले अगाडि बढेको बताए । उनले भने,‘सदरमुकाम मन्थलीबाट स्थानीय तहसम्म जोडने मुख्य सडकहरु धमाधम कालोपत्रे भइरहेका छ, जिल्लाको विकासको लागि योजना बनाएरै लागि परेको छु ।’

समृद्ध रामेछाप निर्माणको लागि सडक, खानेपानी, विद्युतीकरण स्वास्थ्य शिक्षा, कृषि लगायतको क्षेत्रमा प्रदेश सरकारले सक्दो सहयोग गरिरहेको बताउदै अब विकासको राजनीति मात्र हुनुपर्नेमा उनले जोड दिए ।मन्त्री ढुंगेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकोमा प्रदेश सरकार र स्थानीय सरकार अहिले एउटै राजमार्गमा हिडिरहेको बताउदै अहिलेको सरकारले जतिको विकास अहिलेसम्म कुनै पनि सरकारले गर्न नसकेको दावी गरे । अहिले एमाले राष्ट्रवादी झण्डा लिएर गाउँगाउँमा पुगेको बताउदै उनले पार्टीभित्र समानान्तर कमिटीको नाममा हुने गतिविधि मान्य नहुने चेतावनी दिए ।

मन्त्री ढुंगेलले डहुबाट मध्य पहाडी लोकमार्गदेखि गाल्वासम्मको सडक कालोपत्रे हुने बताउदै सुनापती गाउँपालिकामा वृहत खानेपानी आयोजना सुरु गरिने प्रतिबद्धता व्यक्त गरे । मन्थली गाल्वा हुँदै चौरीखोला जोडने सडक कालोपत्रे गर्नको लागि ४७ करोड बजेट विनियोजन भएर काम नै अगाडि बढिसकेको बताउदै गाल्वाबाट दोरम्बा हुँदै टोकरपुरसम्मको सडक पनि कालोपत्रको काम सुरु भइसकेको बताए ।

https://www.facebook.com/madan.khadka.1000469/videos/948796309196726

प्रतिक्रिया दिनुहोस्