घोषणापत्र अनुसार काम गर्न रामेछापका जनप्रतिनिधिलाई मन्त्री ढुंगेलको निर्देशन
३० चैत, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले निर्वाचनमा क्रममा जारी गरिएको घोषणापत्र अनुसार काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । पार्टीले जारी गरेको घोषणापत्र अनुसारको काम गर्नुपर्नेमा जोड दिदै घोषणापत्र पल्टाएर कामको समिक्षा गर्नुपर्ने बताएका हुन् ।
नेकपा एमाले रामेछापद्धारा आयोजित जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले स्थानीय प्रदेश र संघीय सरकारको समन्वयमै काम भइरहेको बताउदै स्थानीय तहको विकासको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘समृद्धि रामेछाप निर्माणको लागि पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु प्रतिबद्ध भएर लाग्नु पर्छ, परिणाम देखिने गरी काम गर्नुहोस ।’
प्रतिनिधिहरुको भेलामा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख, कार्यपालिकाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख एवं सदस्य, पार्टी कमिटीका पदाधिकारीको सहभागीता रहेको थियो । एमालेले रामेछापको ६४ वटा वडा मध्ये २९ वटा वडा जित्नुको साथै पाँच स्थानीय तहको नेतृत्व गरिरहेको छ ।