नेपाल टेलिकमको इन्टरनेटले रामेछापवासी दिक्क



३१ चैत, रामेछाप ।
नेपाल टेलिकम रामेछापबाट प्रवाह हुने इन्टरनेटको सेवाबाट रामेछापवासी दिक्क भएका छन् । टेलिफोन र इन्टरनेटमा बारम्बार समस्या आउदा सेवाग्राही दिक्क भएका हुन् । हरेक नागरिकहरुको लागि अहिले इन्टरनेट अपरिहार्यजस्तै भइसकेको छ । तर नेपालकै एक नम्बरको रुपमा नाफा कमाउन सफल रहेको दावी गर्ने नेपाल टेलिकमको सेवाबाट भने सेवाग्राही दिक्क मात्र भएका छैनन्, विकल्पको खोजीमा समेत लागेका छन् ।
रामेछापमा टेलिकमको इन्टरनेटमा बर्षौ अघिबाटै समस्या सृजना हुँदै आएको छ । जिल्लावासीलाई सेवा प्रवाह गर्नको लागि धुलिखेल खाँडीचौर चरिकोट हुँदै मन्थलीसम्म फाइबर पनि जोडिएको छ । त्यसैगरी वर्दिवास सिन्धुली खुर्कोट हुँदै मन्थलीसम्म पनि टेलिकमको फाइबर जोडिएको छ ।

दुवै तिरबाट फाइबर जोडिए पनि जिल्लाभित्र गुणस्तरीय सेवा टेलिकमले प्रवाह गर्न नसकेको मन्थलीका स्थानीय प्रकाश श्रेष्ठ बताउन । उनले भने,‘हामीले महिना पुगेपछि पैसा तिर्नु पर्छ तर सेवा भने राम्रोसँग लिन सकिरहेका छैनौ, टेलिकमलाई गुनासो गरेपनि समस्याको समाधान हुन नसक्दा चिन्तित छौं ।’ फाइबर जोडिएको भएपनि दुवै फाइबर एकै पटक डाउन हुँदा इन्टरनेट बन्द हुने गरेको छ ।

इन्टरनेट सञ्चालन नहुँदा सर्वसाधारण उपभोक्ताले त सास्ती खेप्दै आएका छन नै सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवामा समेत असर गर्ने गरेको छ । तर नेपाल टेलिकम रामेछापका प्रमुख विष्णु भण्डारीले जिल्लाभित्र इन्टरनेटमा देखिएको समस्या जिल्लाबाट सृजित समस्या नभएको बताउछन । उनले भने,‘सेवाग्राहीलाई कुनै सहज रुपमा इन्टरनेट सेवा प्रदान गर्न दुई ठाउँबाट फाइबर जडान गरिएको छ, एकै पटक दुई ठाउँबाट आउने फाइबरमा समस्या आउदा, सेवा दिन सकिदैन ।’

उनले जिल्लाभित्र देखा परेको समस्या समाधान गर्नको लागि केन्द्रसँग सिन्धुली, रामेछाप र दोलखालाई हेर्न गरी खुर्कोटमा स्टानबाइ प्राविधिक टिम राख्नको लागि माग गरेको बताए । ‘जिल्लामा हाम्रो काम समन्वय गर्ने हो, अहिले जे जति समस्या आएको छ, त्यसको समाधान गर्न केन्द्रले नै काम नगरी समस्याको समाधान हुँदैन’, उनले रामेछाप न्युजसँग भने ।

ट्रान्समिसन लाइन निर्देशनालय ध्यान नदिदा बारम्बार समस्या आइरहेको भण्डारीले बताए । फाइबरमा आउने प्राविधिक समस्यालाई समाधान गर्नको लागि प्राविधिक टोली पर्याप्त नहुँदा समस्या आइरहेको बताउदै दिनमै कहिलेकाही तीन पटकसम्म फाइबर डाउने गरेको टेलिकम रामेछापले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्