रामेछापमा एमालेले २ करोड लगानीमा पार्टी कार्यालय बनाउने
१८ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापले करिब २ करोड लागतमा पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ । सदरमुकाम मन्थलीको हाटेचौरस्थित मदन आश्रित स्मृतिको जग्गामा पार्टी कार्यालय बनाउन लागेको हो ।
२१ आना क्षेत्रफलमा निर्माण हुन लागेको तीन तले भवन निर्माण गर्न करिब २ करोड लाग्ने एमालेका सचिव पुरुषोत्तम कडेरियाले रामेछाप न्युजलाई बताए ।
उनका अनुसार आगामी तीन बर्षभित्र निर्माण सम्पन्न लक्ष्यको साथ जेठ ३ गते रामेछाप जिल्लाका इन्चार्ज एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
एमालेले पार्टीका नेता कार्यकर्ता र शुभचिन्तको सहयोगमा भवन निर्माण गर्ने नीति लिएको छ । पार्टी कार्यालय निर्माण गरेर जिल्लास्थित जनवर्गीय संगठनका कार्यालयहरु समेत सोही भवनबाट सञ्चालन गरिने सचिव कडेरियाले बताए । भवन निर्माणको लागि इन्जिनियरले अध्ययन गरेर हाल भवनको नक्सा तयार पार्ने काम भइरहेको छ । आफ्नै पार्टी कार्यालय नहुँदा अहिले भाडामा एमालेले पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ ।