रामेछापमा छैन भेन्टिलेटर र आईसियू, जिल्लाका गम्भीर बिरामी कहाँ लैजाने ?



२१ वैशाख, रामेछाप ।
जिल्लाभित्र कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । तर जिल्लाभित्र हालसम्म एउटा पनि भेन्टिलेटर र आईसियू नहुँदा जिल्लाका गम्भीर विरामीलाई जहाँ लैजाने भन्ने चिन्ता थपिएको छ । काभ्रे र काठमाडौं उपत्यकाका सबै अस्पताल कोरोना संक्रमितका बिरामीले भरिएका छन् । अहिले कोरोना संक्रमित बिरामीले अस्पतालमा भर्ना गर्न वेडको अभाव देखिएको छ । रामेछापबाट गम्भीर बिरामीलाई यसअघि काभ्रेको धुलिखेल र काठमाडौंका विभिन्न अस्पताल लैजाने गरिएको थियो । तर यस पटक गम्भीर बिरामी लैजाने अस्पतालमा वेड छैन् ।

रामेछाप जिल्लामा कोरोना संक्रमितको लागि भन्दै १०१ आइसोलेसन वेड तयार गरिएको छ । तर कुनै पनि अस्पतालमा भेन्टिलेर र आईसियू भने उपलब्ध छैन् । जिल्लामा भेन्टिलेटर र आईसियू राख्नु पर्ने माग बर्षौ अघिदेखि भएपनि सरकारको ध्यान पुग्न सकेको छैन् । जिल्लाभित्र भेन्टिलेटर र आईसियू वेड नहुँदा अहिलेको जटिल अवस्थामा गम्भीर बिरामीलाई उपचार गर्न कहाँ लैजाने भन्ने चिन्ता जिल्लावासीमा थपिएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लामा हालसम्म एउटा पनि भेन्टिलेटर आईसियू वेड नरहेको रामेछाप न्युजलाई बताए । ‘जिल्ला बाहिर गम्भीर बिरामी पठाउन गाह्रो छ, जिल्लाभित्र बिरामी बचाउन भेन्टिलेटर आईसियू छैन, निकै चिन्ताको विषय छ’, उनले भने ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शैया रहेको छ । देशभर सबैभन्दा बढी बाग्मती प्रदेशमा ५ सय ५६ आईसीयू र २ सय ५५ भेन्टिलेटर छन् । यी सबैमा अहिले संक्रमित भरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्