रामेछापको विद्यालयमा चोरी गर्ने दुई भाइ दोलखाबाट पक्राउ
२१ वैशाख, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेको भाले पोखरी आधारभूत विद्यालयबाट कम्प्युटर लगायतको सामान चोरी गर्ने दोलखाका दुई भाई पक्राउ परेका छन् । वैशाख १७ गते राती विद्यालयमा रहेको दुई थान कम्प्युटर थर्मल गन सहित पाँच हजार नगद चोरी गर्ने दुई भाईलाई जिरीबाट पक्राउ गरिएको हो ।
कम्प्युटर चोरी भएको थाहा पाएपछि विद्यालयले गरेको उजुरीको आधारमा प्रहरी कार्यालय शिवालयले जिरी प्रहरी कार्यालयसँग समन्वय गरेर १५ बर्ष मुनिका दुई जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुगानाले पक्राउ परेका दुवै जनालाई पाँच दिन म्याद थपेर थप अनुसन्धान भइरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार पक्राउ परेका दुवै जना पेशेवर चोरीमा संलग्न हुँदै आएको अनुसन्धानबाट खुलेको छ ।