रामेछापका अस्पतालमा पर्याप्त छैनन् अक्सिन सिलिन्डर
स्नेहा सिलवाल
वैशाख २३, काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला रामेछापका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । रामेछापमा कोभिडको उपचार गर्ने जिल्ला अस्पताल रामेछापमा ३० वटा अक्सिजन सिलिन्डर रहेकोमा अहिले १५ वटा सिलिन्डिर मात्र मौज्दात रहेको छ । जिल्ला अस्पताललाई हाल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिएको छ । तर पर्याप्त अक्सिजन सिलिन्डर नहुँदा अहिलेकै संख्यामा संक्रमित थपिए के गर्ने भन्ने चिन्ता अस्पताललाई थपिएको छ ।
जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले अक्सिन सिलिन्डर थप्नको लागि बागमती प्रदेश सरकार र रामेछाप नगरपालिकासँग माग गरिएको बताए । अध्यक्ष पाख्रिनले रामेछाप न्युजसँग भने,‘अहिले अस्पतालमा ३० वटा सिलिन्डर छ, हामीले बागमती प्रदेश सरकारसँग ३० वटा र रामेछाप नगरपालिकासँग ८ वटा सिलिन्डिर माग गरेका छौ ।’ उनले अहिले अस्पतालमा रहेको १५ वटा सिलिन्डिर पर्याप्त नभएको बताए ।
जिल्लामा रहेको तामाकोसी अस्पतालमा साना ठूलो गरी २४ वटा अक्सिजन सिलिन्डिर रहेको छ । त्यसैगरी दोरम्बा गाउँपालिकामा सानो ठूलो गरी १५ वटा सहित आठ वटा स्थानीय तहमा सञ्चालित कोभिड अस्पतालमा गरी ३३ वटा सिलिन्डिर रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप न्युजलाई बताए ।
जिल्लास्थित कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा अक्सिजनको भण्डारणमा ध्यान दिन अनुरोध गरिए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले यस बारेमा चासो नदिएको पाइएको छ ।स्थानीय तहले अहिलेको अवस्थामा अन्य खर्चहरु कटौती गरेर भए पनि अक्सिजनको खरीदमा लाग्नुपर्ने भएपनि स्थानीय तहको ध्यान त्यतातिर जान सकेको छैन् ।
पर्याप्त मात्रामा खरीद गरेर राख्न सके भविष्यमा जोखिम कम गर्न सकिने बताउदै थापाले अक्सिन सिलिन्डिर ल्याउन तत्काल नै पहल गर्नुपर्नेमा जोड दिए ।विभिन्न जिल्लामा कोभिड बिरामी उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र प्लान्ट स्थापनाप्रति सरोकारवाला निकायको ध्यान गएको पाइएको छैन ।