रामेछापमा थप २९ जनामा कोरोना संक्रमण, मन्थली कोरोनाको ‘हटस्टप’ बन्दै
२३ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुका समेत रहेको मन्थली नगरपालिकामा संकलन गरिएको ३८ जनाको स्वाब मध्य २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्थलीमा केही दिनयता संक्रमितको संख्या ह्वातै बढेको छ । मन्थली कोरोनाको दोस्रो लहर अन्तर्गत ‘हपस्टप’ बन्न पुगेकोप्रति नगरवासीले चिन्तित बनेका छन् ।
विहीबार पाँच जना पत्रकारसहित थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । उनका अनुसार मन्थली नगरपालिकाका २६ र रामेछाप नगरपालिकाका ३ जना गरी २९ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै जिल्लामा कोरोनाका संक्रमितको संख्या ७६ जना पुगेको छ ।
संक्रमित हुनेमा २० जना पुरुष र ९ जना महिला रहेका छन् । जिल्लामा हालसम्म संक्रमितको संख्या ३०२ पुगेको थापाले बताए । जस अनुसार २२६ जना निको भएर घर फर्किएका छन् । उनका अनुसार संक्रमितहरु मध्य सात जना जिल्ला अस्पतालको आइसोलेसन र ६९ जना होम आइसोलेशनमा रहेका छन् ।