रामेछापको खैरेनीघाट नाकामा फेरि शसस्त्र प्रहरी बलको अस्थायी पोष्ट स्थापना



३ जेठ, रामेछाप ।
रामेछाप जिल्ला प्रवेश गर्ने मध्यको एक प्रमुख नाका खैरेनीघाटमा सशस्त्र प्रहरी बलको अस्थायी चेकपोष्ट स्थापना भएर सञ्चालनमा आएको छ । रामेछापका मुख्य नाका अन्तर्गत रहेको रामेछाप–सिन्धुली जोडने खैरेनी नाकामा सुरक्षाकर्मीको उपस्थिति नहुँदा सवारी साधन लकडानको उल्लघन गर्दै प्रवेश गर्ने क्रम बढेपछि जिल्ला सुरक्षा समितिको बैठकले अस्थायी पोष्ट राख्ने निर्णय गरेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी खैरेनी नाकालाई व्यवस्थित गर्नको लागि तत्कालको लागि सशस्त्र प्रहरीको अस्थायी पोष्ट सञ्चालनमा ल्याइएको रामेछाप न्युजलाई बताए । उनका अनुसार कोरोना संक्रमण र नियन्त्रणको लागि अस्थायी पोष्टले महत्वपूर्ण भूमिका खेल्नेछ ।लकडाउनलाई प्रभावकारी बनाउन र उक्त नाकाबाट हुने गलत काम रोक्न जिल्ला प्रशासन कार्यालय चासो दिदै अस्थायी चेकपोष्ट स्थापना गरेको हो ।

सुनापती, खाँडादेवी र दोरम्बा गाउँपालिकाको आग्रहमा खैरेनीघाटमा राखिएको अस्थायी पोष्टमा खटिएका प्रहरीको व्यवस्थापन तीन गाउँपालिका मिलेर गर्ने भएका छन् । रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका, दोरम्बा गाउँपालिकामा यही नाका हुँदै सवारी आवात जावत गर्ने गरेका छन् ।

दुई बर्षअघिबाट खैरेनीघाटका पक्की पुल सञ्चालनमा आएपछि उक्त नाकामा प्रहरीको उपस्थिति हुन सकेको थिएन । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले अस्थायी पोष्ट स्थापना भएपछि अव खैरेनीघाट नाकाबाट लकडाउनको उल्लघन नहुने बताउछन् । अस्थायी पोष्टमा हाल दस जना शसस्त्र प्रहरी खटिएका शसस्त्र प्रहरी बल रामेछापका डिएसपी केशव प्याकुरेलले बताए ।

सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रष्ठले खैरेनीघाटमा तत्कालको लागि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएपनि दिर्घकालिन रुपमा तीन गाउँपालिकालाई ध्यानमा राखेर स्थायी प्रहरी पोष्टको आवश्यकता रहेको बताए । उनका अनुसार हाल सुनापति गाउँपालिकाको पहलमा खैरेनीघाटमा हेल्थ डेक्स स्थापना गरिएको छ ।
हाल लुभघाटमा रहेको प्रहरी चौकीमा जनशक्ति कमी भएपछि जिल्ला सुरक्षा समितिको बैठकले शसस्त्र प्रहरी बलको अस्थायी पोष्ट स्थापना गरेको हो ।
तस्बीरः राज मैनालीबाट

प्रतिक्रिया दिनुहोस्