लिखु–४ जलविद्युतको आयोजना परीक्षणकै क्रममा भत्कियो



८ जेठ, रामेछाप । रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माण भएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाको डिसेन्डिङ बेसिन (बालुवा थिग्राउने पोखरी) भत्किएको छ । निर्माण सम्पन्न भएपछि परीक्षणको क्रममा रहेको बेसिन भत्किएको हो । भखरै सम्पन्न भएको आयोजनाको संरचना भत्किएपछि यसको डिजाइन तथा निर्माणको गुणस्तरमा प्रश्न उठेको छ ।

आयोजनाको प्रवर्द्धक ग्रिन भेन्चर कम्पनीका कम्पनीले बाढीकै कारण संरचना भत्किएको दावी गरेका छन् । तर स्थानीयले भने खोलामा बाढी नै नआइ पोखरी भत्किएको बताएका छन् । आयोजनाले अहिले निर्माणको क्रममा भएको कमजोरी स्वीकार गर्ने भन्दा पनि कमिकमजोरी इन्जिनियरिङ र सुपरिवेक्षणमा भएको लापरबाही ढाकछोप गरेको छ ।

स्थानीयले भत्किएको स्थलमा सिमेन्टको मात्रा नपाइएको बताएका छन् । अहिले पानी भरेर आयोजनाको परीक्षण गर्ने क्रममा सानो डिसेन्डिङ बेसिनको एउटा पर्खाल भत्किएको छ । सिभिल निर्माणको ठेक्का पाएको भारतको एसएसएनआर कम्पनीले संरचना निर्माण गर्दा गुणस्तरीयतामा ध्यान नपुर्याएकै कारण यो दुर्घटना भएको कुरालाई नकार्न सकिँदैन । एक साताभित्र विद्युत् उत्पादनमा जान लागेको आयोजनाले थप दुर्घटना निम्त्याउने त्रासमा स्थानीय बसेका छन् । यो आयोजनालाई निर्माण तथा सञ्चालन गरेको ३० वर्षपछि राज्यलाई बुझाउने सम्झौता भएको छ ।


सरकारले २०६५ सालतिरै यो आयोजनाको अनुमतिपत्र भारतको ग्रिन भेन्चर प्रालिलाई दिएको थियो । कम्पनीले १२० मेगावाटमा आयोजना निर्माण गर्ने र उत्पादित विद्युत् भारत निर्यात गर्ने गरी २०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग ‘फल ब्याक पिपिए’ गरेको थियो । ‘फल ब्याक’ पिपिए (विद्युत् खरिद सम्झौता) अनुसार प्राधिकरणले निश्चित समयका लागि मात्र लिखुको बिजुली किनिदिने सर्त थियो । उक्त आयोजनाबाट २०७२ सालभित्रै बिजुली उत्पादन गरिसक्नुपर्ने थियो । तर, परिणाम नदेखिएपछि त्यतिबेलै प्राधिकरणले लिखुको बैंक धरौटी समेत जफत गरेको थियो । पछि, सांघाईले किनेपछि पुनः क्षमता ५२.४ मेगावाटमा झारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्