रामेछापका कोरोना संक्रमितलाई राहत, नेता गौतमले दिए ५० वटा अक्सिजन सिलिन्डर
१० जेठ, रामेछाप ।
जिल्लाभित्र अक्सिजनको अभावमा हुन नदिनको लागि नेकपा एमालेका नेता एवं निर्माण व्यवसायी रत्न गौतमले जिल्ला अस्पताल रामेछापलाई ५० वटा ठूलो भरिएको अक्सिजन सिलिन्डर प्रदान गरेका छन् । अक्सिजनको अभावमा जिल्लाभित्र कुनै पनि कोरोना संक्रमितले ज्यान गुमाउन नपरोस भनेर गौतमले निशुल्क रुपमा ५० वटा अक्सिजन सिलिन्डर दिएका हुन् । गौतमले प्रदान गरेको २५ वटा सिलिन्डर जिल्ला अस्पताल आइपुगेको छ भने बाँकी आउने क्रममा रहेको छ ।
नेता गौतमले रामेछापका कोरोना संक्रमितहरुलाई अक्सिजनको अभाव नहोस भनेर आफूले ५० वटा अक्सिजन सिलिन्डर दिएको बताए । उनले अक्सिजनसहित अन्य स्वास्थ्य सामाग्री भोली जिल्ला अस्पताल रामेछापलाई हस्तान्तरण गरिने रामेछाप न्युजलाई बताए ।
जिल्ला अस्पतालमा हाल पाँच वेडको एचडीयू वेडसहित ३० वटा आइसोलेसन वेड रहेको छ । जिल्ला अस्पताललाई हाल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिएको छ । जिल्लाका स्थानीय तहमा कोरोनाबाट गम्भीर भएका संक्रमितहरुको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले हाल १४ जना कोरोना संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको बताए । अस्पताले अक्सिजनको अभाव हुन नदिन सरकारी तथा दाताहरुलाई आग्रह गर्दै आएको छ ।
उनका अनुसार हाल ५५ वटा सानाठूलो सिलिन्डर रहेको र गौतमले दिनेसहित एक सय भन्दा बढी सिलिन्डर हुनेछ । अब जिल्ला अस्पताल रामेछापमा अक्सिजनको अभावमा कुनै पनि संक्रमितले ज्यान गुमाउन नपरोस भन्ने विषयमा गम्भीर रहेको उनले बताए । हाल रामेछापमा ४ सय ६० जना कोरोना संक्रमित रहेका छन् ।