संक्रमितलाई अक्सिजनको अभाव हुन नदिने उमाकुण्ड गाउँपालिकाको निर्णय



११ जेठ, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाले कोरोना संक्रमितहरुलाई अक्सिजनको अभाव हुन नदिने हुन नदिने निर्णय गरेको छ । गाउँपालिकाले अक्सिजनको अभाव हुन नदिन थप २५ वटा ठूलो अक्सिजन सिलिन्डर खरिद गर्ने निर्णय गरेको हो । हाल कोभिड अस्पतालमा रहेको पाँच वटा सिलिन्डर पर्याप्त नभएको निष्कर्ष निकाल्दै गाउँपालिकाले थप २० वटा आइसोलेसन वेड थप्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाभित्र सुविधा सम्पन्न अस्पताल नभएपनि गाउँपालिकाभित्रको गम्भीर संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन थप अक्सिजन सिलिन्डर खरिद गर्ने निर्णय गरेको रामेछाप न्युजलाई बताए । उनका अनुसार अब थपिने सबै आइसोलेसन वेडमा अनिवार्य रुपमा अक्सिजनको व्यवस्था गरिनेछ ।

त्यसैगरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिृकत एवं स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र कुमार पैकराले कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक आइसोलेन वेड थप्ने निर्णय भएको बताए । उनले हाल सञ्चालनमा रहेको कोभिड अस्पताललाई व्यवस्थित गर्दै थप अक्सिजन सिलिन्डर पनि ल्याउने तयारी भइरहेको बताए ।

‘गाउँपालिकाभित्र सञ्चालित कोभिड अस्पतालबाट हुन नसक्ने उपचारको लागि अन्यत्र रिफर गरिने बताउदै पैकराले गाउँपालिकाको सम्पूर्ण ध्यान कोरोना नियन्त्रण र रोकथामको लागि भइरहेको बताए । हालसम्म उमाकुण्ड गाउँपालिकामा ६१ जना कोरोना संक्रमित रहेका छन् । संक्रमित मध्य सबै होम आइसोलेनमा रहेका छन् । पैकराले गाउँपालिकाभित्र अनावश्यक रुपमा हिडडुल नगर्न पनि गाउँपालिकावासीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्