रामेछापको लागि नेता गौतमले दिए अक्सिजन सिलिन्डरसहित २२ लाखको स्वास्थ्य सामाग्री



११ जेठ, रामेछाप ।
नेकपा एमालेका नेता एवं निर्माण व्यवसायी रत्न गौतमले रामेछाप जिल्लाको लागि ६० वटा अक्सिजन सिलिन्डर प्रदान गरेका छन् । रामेछाप जिल्लामा अक्सिजन सिलिन्डरको अभाव हुन नदिन गौतमले उक्त सिलिन्डर उपलब्ध गराएका हुन् ।

गौतमले उपलब्ध गराएको अक्सिजन सहितको स्वास्थ्य सामाग्री नेकपा एमाले रामेछापमार्फत जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ । संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले आज गौतमले उपलब्ध गराएको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

गौतमले उपलब्ध गराएको ६० वटा ठूला अक्सिजन सिलिन्डिर मध्य ५० वटा जिल्ला अस्पताल र बाँकी दस वटा आवश्यक पर्ने स्थानीय तहलाई उपलब्ध गराइने भएको छ । नेता गौतमले पीपीई सेट ५५५ थान, एन–९५ मास्क २ सय थान, एण्टिजीन किट ३ सय थान र अक्सिमिटर ५० थान उपलब्ध गराएको एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले रामेछाप न्युजलाई जानकारी दिए । गौतमले १४ लाख १० हजार रुपैयाँको अक्सिजन सिलिन्डर उपलब्ध गराएको बताउदै आज जिल्ला स्थानीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई २२ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री नेता गौतमले उपब्ध गराएको कडरियाले बताए ।

जिल्लामा कोरोना संक्रमितलाई अक्सिजन सिलिन्डरको अभाव हुन नदिन आफूले पहिलो प्राथमिकतामा रहेको अक्सिजन सिलिन्डर सहयोग गरेको नेता गौतमले बताए । गौतमले उपलब्ध गराएको अक्सिजनबाट जिल्लावासीको लागि राहत मिलेको जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले बताए । यस अघि नेता गौतमले रामेछाप जिल्लाको आठ वटा स्थानीय तहलाई एक हजार एण्टिजीन किट निशुल्क रुपमा उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्