रामेछापकाे मन्थलीमा नक्कली सेनिटाइजर बरामत



१२ जेठ, रामेछाप ।
रामेछापकाे मन्थली नगरपालिकामा  नक्कली सेनिटाइजर भेटिएकाे छ ।  नक्कली सेनिटाइटरको बिगबिगी बढेपछि जिल्ला प्रहरी कार्यालयले मन्थली नगरपालिका–१ देवकोटा चोकमा रहेको अनुराग इन्टरप्राइजेज एण्ड सप्लायर्समा रहेको गुणस्तरहित सेनिटाइजर बरामत गरेको हो ।

प्रहरीले उक्त सप्लार्यसबाट बरामत गरेको ७० वटा सेनिटाइजर जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहवरमा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछापभित्रका मेडिकल तथा फार्मेसीहरूमा समेत त्यस्ता नक्कली सेनिटाइजरहरू छन् भने विक्री वितरण नगरी प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

अनुगमनको क्रममा त्यस्ता नक्कली सेनिटाइजरहरू विक्रीवितरण गरेको पाइएमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’अनुसार कारवाही गरिने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्