लिखु तामाकोसी गाउँपालिकाको खिम्तीमा आजबाट कोभिड अस्पताल सञ्चालनमा (फोटोफिचर)



१३ जेठ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाको खिम्तीमा पहिलो पटक कोभिड अस्पताल सञ्चालनमा आएको छ । संघीय सरकारले गत बर्ष नै अस्पाताल नभएका स्थानीय तहमा पाँच शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो । तर लिखु तामाकोसी गाउँपालिकामा डाक्टर नियुक्त गर्न नसक्दा अस्प्ताल सञ्चालनमा आउन सकेको थिएन ।

अस्पताल स्थापना एक बर्षपछि आजबाट गाउँपालिकाको वडा नम्बर ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीमा सात वेडको कोभिड अस्पताल सञ्चालनमा आएको हो । गाउँपालिकाले हालै डाक्टर नियुक्ति गरेसँगै आजबाट अक्सिजन सहितको सात वटा आइसोलेन वेड सञ्चालनमा आएको छ । हाल अस्पतालमा पाँच वटा अक्सिजन सिलिन्डर र एउटा इलेक्टोनिक अक्सिजन सिलिन्डर रहेको छ ।

अस्पताल सञ्चालन गर्नको लागि वडा नम्बर ६ का वडाअध्यक्ष शिव न्यौपाले विशेष भूमिका निर्वाह गरेका थिए । यसअघि वडा कार्यालयबाट करिब सात लाखको लगानीमा आइसोलेसन वेड खरिद गरेर अस्पतालमा स्थापना गरिएको थियो । वडा कार्यालयको आग्रह गनुसार नेपाली सेना नयाँ गोरख गणको प्राविधिक सहयोगमा वेडको व्यवस्थापन गरिएको थियो ।

गाउँपालिकाभित्र सञ्चालनमा ल्याएको यो पहिलो आइसोलेसन वेड हो । पहिलो पटक गाउँपालिकामा अस्पताल सञ्चालन भएपछि स्थानीय खुसी भएका छन् । कोरोना संक्रमणको संख्या बढिरहेको बेला गाउँपालिकाभित्रै अक्सिजनसहितको आइसोलेसन वेड सञ्चालनमा आएपछि संक्रमित बिरामीलाई समेत गाउँमै उपचार पाइने आशा जगाएको छ ।

कोभिड अस्पताल खिम्तीका डा. सुजन कडरियाले आजबाट सञ्चालनमा आएको कोभिड अस्पतालबाट सक्दो सेवा प्रवाह गर्ने रामेछाप न्युजलाई बताए । उनले भने,‘स्रोत साधन सीमित छ, अहिले भएको स्रोत साधनलाई अधिकतम रुपमा प्रयोग गरेर संक्रमितको उपचारमा लगाउछौ ।’

अस्पतालबाट हुन सक्ने उपचार गरिने बताउदै गम्भीर बिरामीलाई थप उपचारको लागि जिल्ला अस्पताल र अन्य अस्पतालमा रिफर गरिने बताए । ‘संक्रमित बिरामीलाई भर्ना लिएर उपचार सुरु गछौ, डा. कडरियाले भने । उनका अनुसार संक्रमितहरु उपचारको लागि आएपछि भर्ना गर्नुपर्ने संक्रमितहरु अहिलेसम्म आएका छैनन् । लिखु तामाकोसी गाउँपालिकामा कोरोनाको दोस्रो लहर अन्तर्गत हाल ५१ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्