सुनापति गाउँपालिकाको ऐतिहासिक पोखरीमा बन्यो २० फिटको मुर्ति
१८ जेठ, रामेछाप ।
सुनापती गाउँपालिकाको पर्यटकीय स्थल सुनापति डाँडाको काखैमा रहेको ऐतिहासिक पोखरीमा गुरु पद्मा सम्भव (गुरु रेम्पोछे)को वीस फिट अग्लो मुर्ति निर्माण भएको छ । सुनापति गाउँपालिका–३ हिलेदेवी स्थित ह्योलमो बस्ती ( लामा टोल)मा रहेको ऐतिहासिक पोखरीमा गुरु रेम्पोछेको मुर्ति निर्माण भएको हो । डोक्मामा रहेको ऐतिहासिक पोखरीको बीचमा कलात्मक रुपमा फक्रदै गरेको कमलको फुलमाथि गुरुको मुर्ति स्थापना गरिएको छ ।
योसँग तालको सौन्दर्य समेत बढेको छ । केही समयदेखि ऐतिहासिक पोखरी आन्तरिक पर्यटकहरुको आकर्षणको गन्तव्यको रुपमा विकास हुँदै आएको छ । आगामी दिनमा गुरु योजना बनाएरै ऐतिहासिक पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि स्थानीयले माग गर्दै आएका छन् । हाल पोखरी रहको लामा टोलमा आन्तरिक एवं बाह्यक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले होमस्टे समेत सञ्चालन गर्दै आएको छ ।
मुर्ति निर्माण उपभोक्ता समितिका अध्यक्ष तेज बहादुर लामाङले वडा कार्यलयले विनियोजन गरेको १५ लाख बजेटमा वीस फिट अग्लो रेप्पोछेको मुर्ति निर्माण सम्पन्न भएको बताए । उनका अनुसार लकडाउनको कारण तत्काल उदघाटन (राप्ने) सम्भव नभएकाले लकडाउन खुला भएपछि मात्र गरिने भएको छ । लामाले पोखरीको सौन्दर्यकरण बढाउन अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रेष्ठले ऐतिहासिक पोखरीमा रेम्पोछेको मुर्ति स्थापना गर्ने काम हुनु राम्रो भएको बताएका छन् । उनले सुनापतिको पर्यटकीय क्षेत्रको विकासको लागि काम अगाडि बढारहेको बताउदै ऐतिहासिक पोखरीको सौन्दर्यकरण र संरक्षणमा पालिकाले विशेष ध्यान दिने बताए । उनले भने,‘गाउँपालिकाभित्र रहेको ऐतिहाक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने कार्यमा गाउँपालिकाले ध्यान दिएको छ ।’
यस्तो छ पोखरीको ऐतिहासिक कथनः
परापूर्व कालमा रामेछाप जिल्लाको हिलेदेवी गाउँमा एउटा सुन्दर युवक थिए । उनी लामाहरूसँग बुद्ध धर्मको अध्ययन गरिरहेका थिए । ती किशोर तीक्ष्ण बुद्धिका थिए । सुनापतिको घना जङ्गलमा ध्यान गर्दागर्दै उनको शरीरमा अद्भूत दैवी शक्तिको प्रवेश भयो । लामा यस ठाउँबाट उडेर बेपत्ता भए । महिनौं घर नफर्किएनन् । उनका पिता, माता, भाई बन्धुहरू चिन्तित भए ।
सारा वन–जङ्गल, भीर, पहरा, गाउँ ठाउँ खोजे । नातागोता कुल–कुटुम्व सवैतिर हल्लाखल्ला गरे । लामा बेपत्ता भएको खवर तालाचुई दरवारसम्म पनि पु¥याए । कति खोज्दा पनि किशोर लामा भेटिएनन् । धेरै दिनहरू यसै गरि खोजविनमै वित्यो । अव उनिहरू आजित भए । एकदिन सवै भाइ–बन्धु भेला भएर एउटा निस्कर्ष निकाले,‘जङ्गलमा ध्यानमा बसेका समयमा बाघले खाएको हुनुपर्छ ।’
कहीं नभेटे पछि, मरेको अनुमान गरेर घेवा (काजक्रिया) गर्ने निश्चय गरे । जाँड मोल्ने, रक्सी पार्ने, लामा बोलाउने लगायतको धार्मिक विधि प्रक्रिया प्रारम्भ भयो । पाहुना पाछा आउन सुरु भयो । सो कुरा दैवी शक्ति प्राप्त, अन्तर्यामी लामाले ध्यान–दृष्टिबाट थाहा पाए । लामा आकाश मार्गबाट उड्दै उड्दै गाउँ फर्किए र उर्गेन छ्योलिङ पोखरीमा रहेको काठको मुढामा अवतरण गरे । आकाश मार्गबाट फर्किएका लामा देखेर, घेवा गर्न तम्तयार उनका माता–पिता, भाई–बन्धु, इष्ट–मित्र, कुल–कुटुम्भ र कर्मकाण्डी लामाहरू समेत आश्चर्य चकित भए ।
एकाएक परिस्थिती उत्साहमा बदलियो । आफन्तमा हर्षका आशु वर्षिए । घेवाको सारा तयारी रोकियो । उडुवा लामाले सोधे–‘म ज्युँदै थिएँ ! किन मेरो घेवागर्ने तयारी गरेको ?’ आफन्तले भने तिमी वेपत्ता भयौं । कहिँ फेला परेनौं, म¥यौं होला; भन्ने ठानेर घेवाको तयारी ग¥यौं । माफ गर ! दैवी शक्तिप्राप्त लामा विद्वान् थिए ।
यस कुराले उनको हृदय चिरियो । उनका अन्तर आत्मामा नराम्रो चोट प¥यो । जिउँदैमा घेवा हुनु जीवनको अपसकुन हो । यस घटनाले उनको मन परिवर्तन भयो । लामा फेरि उर्गेन छ्योलिङ पोखरीमा रहेको उहि काठको मुढामा टेकेर विस्तारै सुनापति डाँडातर्फ उडे । लामा कता जान्छन् ! भनेर घेवामा जम्मा भएका मानिसहरू दौडदै सुनापति डाँडासम्म पुगे । लामा आकाश मार्ग भएर हावामा कावा खाँदै, उड्दै उड्दै सुनकोशी नदिको गजुली दहतिर लागे ।
गजुली दहका किनारामा रहेको पहराको जरुवा ढुङ्गामा पुगेर पुनः ध्यान गरे । उड्ने शक्ति बाँकि राखेर, उनका आङमा आएका सवै देउता सुनकोसीको दहमा सेलाइदिए । अनि पुनः उडेर उहि उर्गेन छ्योलिङ पोखरीको मुढामा उत्रिएर घर फर्किए । लामा उत्रिएको काठको मुढो अझै पनि अवशेषको रुपमा संरक्षित छ ।
कथन साभारः देवशकंर पौडेलको फेसबुकबाट