कोरानाबाट सुनापति गाउँपालिकामा थप एक जनाको निधन
२४ जेठ, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिकामा थप एक जनाको कोरोनाबाट निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बस्दै आएका सुनापति गाउँपालिका–२ दिपीपोखरी स्थित बजेपोखरीका ४७ बर्षिय नन्दलाल घिसिङको आज बिहान आफ्नै घरमा निधन भएको हो ।
केही दिन अघिबाट कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हिजो मात्र चाँपस्वाँरा उप स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा घिसिङलाइ कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मीले लक्षण देखिएका घिसिङलाई तत्काल अस्पताल जान सुझाव दिएका थिए ।
तर तामाङले घरमै बस्ने भन्दै परीक्षण गराएर घर फर्किएका थिए । आज बिहान शौचालय जाने क्रममा एक्कासी बेहोस भएर निधन भएको परिवारका एक सदस्यले बताए ।
कोरोनाबाट निधन भएका घिसिङको शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्ने भएको छ । नयाँ गोरख गण रामेछापका गणपति विष्णु सापकोटाले कोरोनाबाट निधन भएका घिसिङको शव व्यवस्थापन गर्न टोली परिचालन गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार गाउँपालिकाले तोकेको ठाउँमा सेनाको टोलीले शव व्यवस्थाप गर्नेछ ।
नेकपा माओवादी केन्द्रका नेता होमराज खपाङ्गी मगरले कोरोनाबाट निधन भएका घिसिङको शव गाल्वा क्षेत्रमा व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले वडाभित्र कोरोना संक्रमितको संख्या बढदै गएकाले सावधानी अपनाउनु पर्ने विषयमा आफूहरुले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । यसअघि सुनापति गाउँपालिका–२ दिमीपोखरी स्थित आलमपुरका एक जनाको काेराेनाबाट निधन भएको थियो ।