पानीको ट्याङकी नखोल्दा खनियापानीमा पानीको हाहाकार
२८ जेठ, रामेछाप ।
सुनापति गाउँपालिका–५ खनियापानीमा सम्पन्न लामपाते लिफ्ट खानेपानी योजना सम्पन्न भएर पनि सञ्चालनमा आउन नसक्दा खानेपानीको हाहाकार भएको छ । खनियापानीवासीलाई पिउने पानीको सुविधा पुर्याउन चार बर्ष अघि सुरु भएको योजना सम्पन्न भएर पनि सञ्चालनमाा आउन नसक्दा खानेपानीको हाहाकार भएको हो ।
सामुदायिक विकास समाज (सिडिएस) र वडा कार्यालयको संयुक्त लगानीमा दुई बर्षभित्र सम्पन्न गर्ने गरी २०७४ सालमा लिफ्ट खानेपानी योजना सुरु भएको थियो । सुरेश रोकाको अध्यक्षतामा बनेको उपभोक्ता समितिले ९५ प्रतिशत काम सम्पन्न गरिसकेको अवस्थामा पाँच प्रतिशत काम सक्न अध्यक्ष परिवर्तन गर्दा थप लडफा भएको छ । पाँच प्रतिशत काम गर्न स्थानीय भोलाराज रोका अध्यक्ष बनेका थिए ।
नयाँ अध्यक्ष बनेका रोकाले समयमै पाँच प्रतिशत काम सकेर पनि योजना सञ्चालन गर्न ढिलासुस्ती गरेको आरोप स्थानीयले लगाएका एक स्थानीय भन्छन‘अहिले गाउँमा खानेपानीको स्रोत छैन, लिफ्टबाट पानी आउने आशामा बसेका थियौ, उपभोक्ता समितिका अध्यक्ष भोलाराजलाई आग्रह गर्दा पानी चलाउन वास्था नै गर्दैनन ।’ खानेपानी योजनामा भएको ढिलासुस्तीको बारेमा स्थानीय उपभोक्ताले वडा कार्यालय र सुनापति गाउँपालिकामा समेत जानकारी गराउदा पनि सुनुवाई हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उक्त लिफ्ट खानेपानी योजनाबाट एक सय २ घरधरी लाभान्वित हुने छन् । योजना सम्पन्न गर्न वडाबाट सुरेश रोकाको कार्यकालमा १६ लाख रुपैयाँ रकम बिनियोजन भएको थियो । आयोजनामा सिडिएस संस्थाले बालुवाको शीर्षकमा ३७ हजार, ट्रान्समिटर मिस्त्री ज्याला शिर्षकमा ४८ हजार बजेट उपलब्ध गएको थियो भने स्थानीय उपभोक्ता बाट ६० हजार रकम असुली गरेका थियो । तर सुरेश रोकाले पनि आफ्नो कार्यकालमा भएको कामको हिसाब किताब स्थानीयलाई दिन सकिरहेका छैनन् ।
वडाबाट खानेपानी योजनाका लागि तेस्रो पटक छुट्याईएको १० लाख वर्तमान अध्यक्ष भोलाराज रोकाले लिइसकेका छन् । निर्माण कार्य सम्पन्न गर्न सिडिएस संस्थाबाट थप ९६ हजार रकम प्रदान गरेको छ भने स्थानीयबाट करिब २ लाख संकलन गरेको छ ।
योजनालाई प्राप्त भएको १३ लाख ६ हजारको काम नै नगरेको आरोप रोकामाथि स्थानीयले लगाएका छन् । बजेटबाट ८८ वटा घरमा धारो बनाए पनि अझै १४ वटा घरमा धारो बनाउने काम हुन सकेको छैन् । चार बर्ष वितिसक्दा समेत काम गरेको ज्याला नपाएको एक कामदार बताउछन । उनले भने,‘काम गरेको चार बर्ष भो, पहिलाको अध्यक्षले अहिलेको अध्यक्ष देखाउछ, अहिलेकाले पहिलाको अध्यक्ष देखाउछ, माग्दा माग्दा हैरान भइसक्यौ ।’ एक स्थानीय भन्छन–योजना सञ्चालनको साचो भोलाराजसँग छ, हामी पानी नपाएर हैरान भएका छौ, खै किन हो भोलाराज साँचो खोल्नै मान्दैनन ।’
तर उपभोक्ता समितिका अध्यक्ष भोलाराज रोकाले आफ्नो कारणले नभई उपभोक्ताको बीचमै कुरा निमल्दा योजना सञ्चालनमा नआएको बताउछन । उनले भने,‘योजना सम्पन्न भएको छ, मैले उपभोक्ताहरुलाई साचो लैजानुहोस, खोलेर पानी खानुहोस भनेकै छु, मेरो कारणले योजना नचलेको होइन ।’
उनले आफूले सार्वजनिक सुनुवाई गरेर खर्च विवरण सार्वजनिक गरिसकेको बताउदै बाँकी धारो निर्माण गर्न सम्बन्धित घरका व्यक्तिहरु नहुँदा अगाडि बढाउन नसकिएको बताए । रोकाले सिडिएसले पनि प्रतिबद्धता अनुसार अटाेमेटिक मेसिन राख्ने काम नगरेको बताए ।