रामेछापमा कांग्रेसको ६ हजार क्रियाशिल सदस्य थपिए



३१ जेठ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले ६ हजार भन्दा बढी नयाँ क्रियासिल सदस्य थप गरेको छ । क्रियाशिल सदस्य दोब्बर बनाउने केन्द्रको नीति अनुसार रामेछाप कांग्रेसले थप ६ हजार नयाँ सदस्यता वितरणकाे विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाएको हो ।  यसअघि रामेछापमा कांग्रेसको ५७ सय क्रियाशिल सदस्यता मध्ये करिब ३८ सयको मात्र नविकरण भएको कांग्रेस रामेछापका प्रवक्ता नारायण बहादुर खड्काले बताए ।

उनले रामेछाप न्युजसँग भने,‘पार्टीको नीति अनुसार झण्डै ६ हजार नयाँ सदस्यता वितरण गरिएको छ, पुरानो क्रियाशिल सदस्य मध्ये ३८ सयको नविकरण गरेर केन्द्रमा नाम पठाएका छौं ।’ खड्काका अनुसार नयाँ थप गरिएकाे स‌ख्यासँगै रामेछापमा पार्टीको क्रियाशिल सदस्यको संख्या ९ हजार ८ सय पुगेको छ । अन्य जिल्लमा क्रियाशिल सदस्यता सम्बन्धि विवाद भएपनि रामेछापमा पनि विवाद रहित ढंगले सदस्यता वितरण गरिएको कांग्रेसले बताएको छ ।

पार्टीको १४ औं महाधिवेशन आगामी भदौ पहिलो साता तोकिएको छ । भदौमै पार्टीको महाधिवेशन भएको अवस्थामा असार र साउनमा वडा, पालिका, जिल्लादेखि प्रदेशसम्मको अधिवेशन गर्ने तयारी कांग्रेसले गरेको छ । पार्टी सभापति शेर बहादुर देउवाले तोकिएकै मिति भदौमा १४ औं महाधिवेशन हुने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्