तामाकोसी र सुनकोसी नदीमा पानीको बहाब बढदा रामेछापका नदी किनाराका बस्ती जोखिमा
१ असार, रामेछाप ।
अविरल रुपमा परेको पानीको कारण सुनकोसी र तामाकोसी नदीमा पानीको बहाब बढेको छ । तामाकोसी नदीमा पानीको वहाब बढेसँगै सदरमुकाम मन्थली आसपासको क्षेत्रका बासिन्दालाइ उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय रामेछापले अहिले माइकिङ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले तामाकोसी नदीमा साँझबाट पानीको बहाब बढेको बताए । उनले रामेछाप न्युजसँग भने,‘अहिले नै जोखिममा परिसकेको अवस्था त छैन, तर रातीको समयमा नदीमा थप बाढी बढन सक्ने भएकाले नदी किनाराका बासिन्दालाई सचेत हुन आग्रह गरिरहेका छौं ।’
त्यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका स्थित लार्के र याङग्रीमा पहिरो खसेको कारण इन्द्रावती नदी थुनिएपछि तिपेनी बजार र आसपासको क्षेत्र जोखिममा परेको छ । इन्द्रावती नदी थुनिदा सुनकोसी नदीमा पनि बहाप बढेको छ । सिन्धुपाल्चोकमा नदी थुनिदा रामेछापको दोभनटार, च्याडीटार, लुभुघाट, कोथबे, सित्खा लगायतका क्षेत्र उच्च जोखिममा पर्ने सक्ने खतरा रहेको छ ।
लुभुघाट, सित्खा लगायतको क्षेत्रमा पनि प्रहरीले सतर्कता अपनाउन स्थानीयलाई अहिले जानकारी गराइरहेको छ ।