कम्मरमा फुर्लुङ बाँधेकै अवस्थामा रामेछापमा एक पुरुषको शव भेटियो
३ असार, रामेछाप ।
कम्मरमा माछा मार्ने फुर्लुङ बाँधेकै अवस्थामा खाँडादेवी गाउँपालिका–४ पुछिघाट स्थित सुनकोसी नदी किनारामा एक पुरुषको शव फेला परेको छ । करिब ४५ बर्षिय पुरुषको कम्मरमा नाम्लाले बाँधेको माछा मार्ने फुर्लुङ बाँधेको अवस्थमा शव फेला परेको हो । बुधवार दिउसो फेला परेको शव जिल्ला प्रहरी कार्यालयले जिल्ला स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखेको छ । प्रहरीले माछा मार्ने क्रममा बाढीले बगाउदा ती पुरुषको मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ ।
प्रहरीले नदी किनारामा भेटाएको शव सिन्धुपाल्चोक मेलम्ची आसपासका बासिन्दा हुन सक्ने अनुमान गरेको छ । मेलम्ची आसपासको क्षेत्रमा आएको बाढीको कारण अझै केही व्यक्तिहरु बेपत्ता छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीशकंर श्रेष्ठले गहुगारो बर्ण, ५ फिट ३ इन्च उचाई भएको पुरुषको शव फेला परेको बताए । उनले सम्बन्धित परिवारबाट सनाखत भएमा जिल्ला प्रहरी कार्यालय रामेछापमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । प्रहरीले उक्त शवको फोटो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पठाएर पनि पहिचान गर्ने कोशिस गरिरहेको छ ।