सिन्धुलीको दुम्जादेखि रामेछापको सुनापति डाँडामा केबलकार सञ्चालन गर्ने
१५ असार, रामेछाप ।
सिन्धुलीको दुम्जा कुशेश्वर महादेव स्थान हुँदै रामेछापको पर्यटकीय क्षेत्र सुनापतिसम्म केबलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ । सुनापति गाउँपालिको आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केबलकार सञ्चालन गर्नको लागि सम्भाव्यता अध्ययन गर्ने नीतिगत निर्णय गरेको हो । विगतमा पनि केलबकार सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरिने चर्चा चलेपनि गाउँपालिकाले निकै महत्वकांक्षी केबलकार सञ्चालनको योजना अगाडि सारेको छ ।
सिन्धुलीको धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिदै आएको दुम्जाबाट खाँडादेवी गाउँपालिकाको राकाथुम, खनियापानी रुपाकोट हुँदै पर्यटकीय गन्तव्य सुनापति डाँडासम्म केबलकार सञ्चालन गर्ने अवधारणा गाउँपालिकाले अगाडि सारेको छ । निकै खर्चिलो र महँगो योजनालाई गाउँपालिकाले अगाडि सारेपनि कार्यान्वयन पक्षमा सहज देखिदैन ।
सिन्धुली रामेछाप जोडन खैरेनीघाट पुलबाट खनियापानी रुपाकोट हुँदै सुनापति डाँडासम्म करिब १६ किलोमिटर दुरीमा रहेको छ । यसअघि बागमती प्रदेश सरकारले यसअघि सित्खादेखि धार्मिक पर्यकीय क्षेत्र खाँडादेवी मन्दिरसम्म केबलकार सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरेको थियो । तर प्राविधिक दृष्टिकोणबाट निकै महंगो र खाँडादेवी मन्दिरसम्मै सडकको पहुँच मार्ग पुगेको हुलाले हाल उक्त योजना स्थगित गरिएको छ ।