जुम्लाको सिडियोमा रामेछापकी चेली
१७ असार, रामेछाप ।
जुम्लाको प्रमुख जिल्ला अधिकारीमा विजया प्रसाईको सरुवा भएको छ । गृह मन्त्रालयले प्रसाइलाई प्रजिको रुपमा जुम्ला पठाएको हो । गृह मन्त्रालयको योजना शाखामा कार्यरत रामेछाप मन्थली नगरपालिका–७ भटौलीकी प्रसाई २०६० सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन ।
यसअघि सिन्धुलीमा सहायक प्रमुख जिल्ला अधिकारी भएर जिम्मेवारी सम्हालिसकेकी प्रसाईले २०४९ सालमा रामेछापबाट एसएलसी पास गरेकी थिइन । मन्थली माविका प्रअ टंक दाहालले मन्थली माविका पूर्व विद्यार्थी प्रसाई जुम्लाको सिडियो भएको खबर सुन्दा निकै खुसी भएको बताए । उनले भने,‘मन्थली माविमा अध्ययन गरेका विद्यार्थीहरु राज्यको माथिल्लो तहमा पुगेको सुन्दा हामी निकै खुसी छौं ।’
जुम्लामा सरुवा भएकी प्रसाईले आफ्नो कार्यकालमा जुम्लाका नागरिकहरुलाई सहज रुपमा सेवा सुविधा दिने कार्यमा लाग्ने बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘जुम्लामा रहेर राज्यबाट प्रवाह हुने सेवा सुविधालाई सहज रुपमा प्रवाह गर्न भूमिका खेल्छु ।’