बर्षासँगै फाइबर काटिदा रामेछापमा टेलिकमको नेटवर्कमा समस्या
१९ असार, रामेछाप ।
अविरल बर्षासँगै रामेछापमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । रामेछापका अधिकाशं स्थानमा अहिले नेपाल टेलिकमको नेटवर्कका समस्या आउदा टेलिफोन सेवा अवरुद्ध भएको हो । धुलिखेल– मन्थली खण्डमा पहिरोको कारण फाइबर सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या आएको नेपाल टेलिकम रामेछापका प्रमुख विष्णु भण्डारीले रामेछाप न्युजलाई बताए ।
उनका अनुसार सहज रुपमा सेवा प्रवाह गर्नको लागि फाइबर सेवा सुचारु गर्नको लागि टिम परिचालन भइसकेको छ । रामेछापमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिनु सामान्यजस्तै भइसकेको छ । केहीदिन यता फोन नलाग्ने, फोन लागि हालेपनि नसुनिने समस्या रामेछापवासीले झेल्दै आएका छन् ।
रामेछापमा नेटवर्कमा समस्या आउदा सेवाग्राही दिक्क भएका छन् । जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा बर्षौदेखि नेपाल टेलिकमको नेटर्वकमा आएको समस्या समाधान हुन सकिरहेको छैन । आज बिहानबाट जिल्लाका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउदा जिल्लावासी हैरान भएका छन् ।
प्रमुख भण्डारीले रामेछाप न्युजसँग भने,‘जिल्लामा अहिले माइक्रो रेडियो मार्फत मात्र टेलिकमको सेवा प्रवाह भइरहेको छ, फाइबर सुचारु नहुँदासम्म समस्या समाधान हुँदैन ।’ उनका अनुसार हाल जिल्लाभित्र टेलिकमका झण्डै एक लाख सेवाग्राही रहेका छन् ।