रामेछापमा लकडाउन खुकुलो, कोरोना संक्रमणको जोखिम कायमै



२४ असार, रामेछाप ।
रामेछाप जिल्लाभित्र लकडाउन खुकुलो बनाउने निर्णयसँगै बजार क्षेत्रमा भिडभाड बढेको छ । लकडाउन खुकुलो बनाएसँगै नागरिकहरु मास्क विना पनि बजारमा हिडडुल गर्न थालेका छन् ।

बजार क्षेत्रमा केही दिनयता चहलपहल बढेको छ । लकडाउन केही खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम समेत उच्च रहेको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । बुधवार मन्थली नगरपालिकामा १७ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापले जानकारी दिए ।

उनले भने,‘लकडाउन केही सहज भएपनि संक्रमणको जोखिम कायमै रहेको छ, स्वास्थ्य मापदण्ड पालना नगर्ने हो संक्रमण झन बढने खतरा रहेको छ ।’ थापाका अनुसार हाल जिल्लाको आठ स्थानीय तहमा गरी ९१ जना होम आइसोलेसनमा र ३७ जना संक्रमित   अस्पतालमा भर्ना भएका छन् । जिल्लाभित्र संक्रमणको दर घटेको छैन, सावधानी नअपनाउने हो झन जोखिम हुने अवस्था छ, उनले भने । रामेछापमा विहिवार मात्र ३० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्