दोरम्बा सैलुङ्ग गाउँपालिकाको मुख्य सडक निर्माणको काम धमाधम



२६ असार, रामेछाप ।
दोरम्बा सैलुङ्ग गाउँपालिकाले सदरमुकाम मन्थली र राजधानी काठमाडौं जोडने मुख्य सडकको रुपमा रहेको गाल्वा दोरम्बा हुँदै टोकरपुरसम्म जोडन सडकको स्तरउन्नतीको कामलाई तीब्रता दिएको हो । उक्त खण्ड अन्तर्गत रहेको दोरम्बा टोकरपुर जोडन सडक खण्डलाई व्यवस्थित गर्ने मुख्य उदेश्यसहित स्तरउन्नतीको काम अगाडि बढाएको हो ।

गाउँपालिकाको एक करोड र बागमती प्रदेश सरकारको एक करोड गरी दुई करोड लगानीमा दोरम्बा बजारदेखि गाउँपालिकाको केन्द्र जोडने करिब सात किलोमिटर सडकमा अहिले ठाउँ ठाउँमा ढलान, सोलिङ र ग्राबेल गर्ने काम भइरहेको छ । विगतमा बर्षाको समयमा गाडी गुडाउन मुस्किल रहेको सडकलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर अब बर्षाको समयमा निर्वाध रुपमा सञ्चालन गर्ने गरी काम गरिरहेको छ । सडक निर्माण अन्तर्गत हाल मेसिनरि वाल निर्माण गर्ने जाली भर्ने काम लगायतका काम भइरहेको छ ।

दोरम्बा सैलुङ्ग गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले आफूले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार गाल्वादेखि दोरम्बा हुँदै गाउँपालिकाको केन्द्र टोकरपुर जोडने सडकलाई पहिलो प्राथमिकता दिएर स्तरउन्नतीको काम गरिरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले मुख्य सडकको पहिचान गरेर काम गरिरहेका छौ, पालिकाको केन्द्रबाट सबै वडामासम्म जोखिएका मुख्य सडकलाई स्तरउन्नती गरेर बर्षाको समयमा पनि यातायात सञ्चालन गर्न मिल्ने बनाइरहेका छौं ।’

भौगोलिक कारणले सीमित बजेटबाट सडक लगायत अन्य पूर्वाधार निर्माणको काम गर्नु पर्ने बाँध्यता भएपनि सडकको पहिचान गरेर प्राथमिकतामा परेका सडकलाई पहिलो प्राथमिकता दिएका छौ, मोक्तानले भने । विगतमा बर्षाको समयममा पहिरोको कारण अवरुद्ध हुने दोरम्बा गाल्वा स्थित अग्लेश्वरमा खण्डमा अहिले स्तरउन्नती भएसँगै बर्षाको समयमा पनि सहज रुपमा यातायात चल्दा गाउँपालिकाभित्र उत्पादित कृषिजन्य वस्तुलाई राजधानी काठमाडौं लगायतकाने बजारमा पु¥याउन सहज भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्