रामेछापको शैलुङ्गमा बन्यो जिल्लाकै पहिलो विउ आलु उत्पादन केन्द्र
३० असार, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका–१ डुडुवा स्थित राजभिरमा जिल्लाकै पहिलो विउ आलु उत्पादन स्रोत केन्द्र (रष्ट्रिक हाउस) र स्क्रिन हाउस निर्माण भएको छ । बागमती प्रदेश अन्तर्गत कृषि ज्ञान केन्द्र रामेछाप र कृषक समुहको लगानीमा आलु उत्पादन बढाउनको लागि विउ आलु उत्पादन स्रोत केन्द्र निर्माण गरेको हो ।
त्यसैगरी मसलावाली विकास केन्द्र पाँचखाल काभ्रेको लगानीमा स्क्रिन हाउस निर्माण गरिएको हो । रामेछापको दोरम्बा गाउँपालिकासहित दोलखा र सिन्धुपाल्चोकमा २०३२ सालमा स्वीसबाट ल्याएको आलु हाल उत्पादन हुँदै आएको छ । लामो समयसम्म एउटै बिउ प्रयोग गर्दा आलु उत्पादन घढेको निष्कर्ष सहित बागमती प्रदेश सरकारले शैलुङ्गमा आलुको विउ उत्पादन केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो ।
सो निर्णय अनुसार कृषि ज्ञान केन्द्र, सैलुङ्ग क्षेत्र वृहत्त आलु उत्पादन कृषक समुह र सैलुङ्ग एकीकृत नमूना वस्ती कृषि उत्पादन समुहको संयुक्त पहलमा पिबिएम प्रविधिबाट आलुको विउ उत्पादन गर्ने केन्द्र निर्माण भएको हो ।
सैलुङ्ग कृषि पर्यटनका अभियन्ता दावा साङबु शेर्पाले सरकारको पचास प्रतिशत र कृषक समुहको पचास प्रतिशत लगानीमा आलुको बिउ उत्पादन केन्द्र निर्माणको काम सम्पन्न भएको बताए । यस बर्षबाट बिउ उत्पादनको काम अगाडि बढाउने कृषि ज्ञान केन्द्र रामेछापले बताएको छ ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाको डडुवा, गौश्वारा र दोरम्बा क्षेत्रमा गरी बार्षिक रुपमा ८० हजार मेट्रिटन भन्दा बढी आलु उत्पादन हुने गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘दोरम्बा गाउँपालिकाको आलुको ब्राण्ड बजारमा स्थापित गर्न अभियान नै सञ्चालन गर्ने नीति बनाएका छौं ।’ राजधानी काठमाडौं लगायतका ठाउँमा दोरम्बा गाउँपालिकाभित्र उत्पादन भएको आलु मुढेको भनेर अहिले विक्रिवितरण हुँदै आएको छ ।
गाउँपालिकाका अनुसार दोरम्बा गाउँपालिकाभित्र मात्र बार्षिक दस करोड भन्दा बढीको आलु उत्पादन हुने गरेको छ । गाउँपालिकाले आलु निर्यात गर्दा कर लिने नीतिगत निर्णय गरेपनि निर्यात कर संकलनको काम भने अगाडि बढाउन सकिरहेको छैन् ।