बागमती प्रदेशबाट रामेछापका लागि १ अर्ब ६८ करोड बजेट, कुन स्थानीय तहमा कति ?



१३ साउन, काठमाडौं ।
बागमती प्रदेश सरकारले यस आर्थिक बर्षको लागि १ अर्ब ६८ करोड रुपैँया बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा ठूला आयोजना छनोट गर्दै उक्त बजेट उपलब्ध गराएको हो ।बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत ७३ करोड ४५ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत १७ करोड ६१ लाख ५६ हजार रुपैँया विनियोजन भएको बताए ।

उनका अनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत २ करोड ५५ लाख, सामाजिक विकास मन्त्रालय अन्तर्गत ५ करोड १६ लाख ३५ हजार, संघ सशर्त अनुदान अन्तर्गत २३ करोड १४ लाख २० हजार र प्रदेश अनुदान अन्तर्गत ४६ करोड ४७ लाख ८ हजार रुपैँया विनियोजन भएको छ ।
त्यसैगरी अन्तरसरकारी वित्तिय हस्तान्तरण अन्तर्गत मन्थली नगरपालिकाको लागि १ करोड ८२ लाख ५२ हजार रुपैँया विनियोजन भएको छ । त्यस्तै रामेछाप नगरपालिको लागि १ करोड ३४ लाख ९९ हजार रुपैँया विनियोजन भएको छ ।

यसैगरी खाँडादेवी गाउँपालिकाको लागि १ करोड २६ लाख २६ हजार, उमाकुण्ड गाउँपालिकाको लागि १ करोड ८ हजार, गोकुलगंगाको लागि १ करोड १० लाख २० हजार, दोरम्बाको लागि १ करोड १० लाख ५७ हजार, लिखुतामाकोसीको लागि १ करोड १६ लाख ८४ हजार र सुनापतिको लागि ९८ लाख ७७ हजार रुपैँया विनियोजन भएको छ ।

यसैगरी सशर्त अनुदान अन्तर्गत विभिन्न १६ वटा योजनाको लागि मन्थली नगरपालिकालाई प्रदेश सरकारले २ करोड ४९ लाख ६४ हजार रुपैँया पठाएको छ । सो कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकामा १४ वटा योजना सञ्चानल हुने भएका छन् । जसको लागि २ करोड ६२ लाख ९ सय रुपैँया बजेट विनियोजन भएको छ ।

उमाकुण्ड गाउँपालिकामा ११ वटा योजनाको लागि १ करोड ४४ लाख ५९ हजार, खाँडादेवी गाउँपालिकामा १६ वटा योजनाका लागि २ करोड २९ लाख ५२ हजार, गोकुलगंगामा १२ वटा योजनाको लागि २ करोड ७ लाख १६ हजार, शैलुङ्ग दोरम्बाका १५ वटा योजनाको लागि १ करोड ६४ लाख ६८ हजार, लिखु तामाकोसी गाउँपालिकाका ११ वटा योजनाका लागि १ करोड ३७ लाख २८ हजार र सुनापति गाउँपालिकाका १३ वटा कार्यक्रमको लागि १ करोड ५१ लाख ५५ हजार रुपैँया विनियोजन भएको छ ।

समपुरक अनुदान अन्तर्गत मन्थली र रामेछाप नगरपालिकाका तीन/तीन वटा सडकका लागि ३/३ करोड, उमाकुण्ड गाउँपालिकाका दुईवटा योजनाको लागि १ करोड ९९ लाख ६९ हजार, खाँडादवीका ३ वटा योजनाको लागि २ करोड ९४ लाख ४१ हजार रुपैँया विनियोजन भएको छ ।

यसैगरी गोकुलगंगामा एउटा सडकको स्तरोन्नतीको लागि ९९ लाख ७२ हजार, शैलुङ दोरम्बामा तीन वटा योजनाको लागि २ करोड ९९ लाख ९७ हजार, लिखुतामाकोसीमा दुई वटा योजनाको लागि १ करोड ३४ लाख ४८ हजार र सुनापतिमा ४ वटा योजनाका लागि २ करोड १७ लाख ७ हजार रुपैँया विनियोजन भएको छ ।

मन्त्री ढुंगेलले विनियोजित बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । गत आर्थिक बर्षमा प्रदेशबाट ३ अर्ब ८ करोड ४९ लाख, ५८ हजार बजेट प्राप्त भएकोमा चालु तर्फ ६९ करोड ६९ करोड ५६ लाख तीन हजार १४० रुपैयाँ र पुँजीगत तर्फ २ अर्ब ४५ करोड १२ लाख ५१६ रुपैयाँ खर्च भएको छ । प्रदेशबाट प्राप्त बजेट अनुसार चालुतर्फ ८५।५२ प्रतिशत र पुँजीगत तर्फ ८९।८० प्रतिशत बजेट खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्