उद्यम गर्न चाहनेलाई विना धितो ऋणको व्यवस्था गरेका छौः मन्त्री ढुंगेल
१३ साउन, हेटौडा ।
बागमती प्र्रदेशका प्रवक्ता एवं बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सरकारले गरिबीको रेखामुनी रहेका जनताहरुको लागि बिना धितो सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको बताएका छन् । उनले चालु आर्थिक बर्ष ०७८/०७९ मा सहुलियतपूर्ण ऋण प्रवाह गरेर बढी भन्दा बढी उद्यमी बनाउने सरकारको योजना रहेको बताएका हुन् ।
बुधबार आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेले उत्पादन तथा रोजगारी सृजनाका लागि ‘सहुलियतपूर्ण ऋण लगानी कार्यविधी २०७७ मन्त्रिपरिषदबाट पारित गरिसकिएको जानकारी दिए ।
कोरोना महामारीबाट शिथिल भएको कृषि, उद्योग, व्यापार÷व्यवसायसँग सम्बन्धित क्षेत्रहरुमा उत्पादन तथा रोजगारी सृजनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने गरी गत आर्थिक बर्ष ०७७/०७८ को बजेट वक्तव्यको १४९ नम्वर बुँदामा घोषणा गरिएको समेत उल्लेख गरिएको उनले बताए ।
सो कार्यक्रम प्रभावकारी बनाउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडसंग २०७७ मंसिर ८ गते सम्झौता गरिएको मन्त्री ढुंगेलले स्मरण गराए ।
मन्त्री ढुंगेलका अनुसार आर्थिक मन्त्रालयले ०७७ पुस ८ गते प्रथम किस्ता ६० करोड विनियोजन गरी कृषि विकास बैंक लिमिटेडलाई ४० करोड रुपैंया तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई रु २० करोड रुपैयाँ उक्त कार्यक्रमको लागि ऋण लगानी गर्न उपलब्ध गराएको छ ।
बागमती प्रदेशभित्र ६५ वटा कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालयमार्फत् उक्त कार्यक्रम विस्तार तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १८१ साना किसान कृषि सहकारीमार्फत् ऋण लगानी कार्यक्रम संचालन गरिएको उनले बताए ।
‘मन्त्रालयले बागमती प्रदेशभित्रका १३ वटै जिल्लाका सबै स्थानीय तहहरुको वडासम्म पुग्ने गरी कार्यविधि तथा जानकारी मुलक हाते पुस्तक उपलब्ध गराएको छ’, मन्त्री ढुंगेलले भने,‘सहुलियतपूर्ण ऋण प्रवाह गर्न वित्तीय संस्थाहरुलाई यसबारे अभिमुखीकरण तथा अनुशिक्षण गरिसकेका छौं ।’ सहुलियतपूर्ण ऋणका लागि कूल कृषि विकास बैंकमार्फत् कुल ८० करोड र साना किसान वित्तीय संस्थामार्फत कुल ६० करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।