रामेछापमा निर्मित तीन सडकको मुख्यमन्त्री पौडेलद्धारा उदघाटन
२१ साउन, रामेछाप ।
बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको रामेछाप तीन वटा सडकको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गरेका छन् । सरकार गठन भएपछि जिल्लाका मुख्य सडकको कालोपत्रेको कामलाई तीब्रता दिएको कारण तीन बर्षमा प्रदेश सरकारले जिल्लामा ६४ किलोमिटर सडक कालोपत्रे गरेको हो ।
प्रदेश सरकारको १७ करोड ५६ लाखमा निर्माण भएको साढे सात किलोमिटर मन्थली–मदौ–राल्टार–सालु सडक, २३ करोड ५४ लाखमा निर्माण भएको मन्थली–गाल्वा–चौरीखोला, लखनपुर सडक खण्डको साढे १० किलोमिटर सडक र २५ करोड ८५ लाखमा निर्माण भएको खिम्ती–फर्पु–नामाडी–बेताली सडक खण्डको १६ किलोमिटर कालोपत्रे सडकको मन्थलीमा आयोजित एक कार्यक्रममा उदघाटन गरिएको छ ।
रामेछापभित्र निर्मित सडकको संयुक्त रुपमा मन्थलीबाट उदघाटन गर्दै मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेश सरकारले निकै राम्रो काम गरेको बताए । उनले बाँकी रहेको कार्यकालमा प्रदेश सरकारले अझै परिणामुखी काम गर्ने बताए । मुख्यमन्त्री पौडेलले रामेछाप जिल्लाभित्र परिणममुखी काम भएको बताउदै आगामी दिनमा पनि रामेछापको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिने प्रतिबद्धता जनाए ।